Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रशान्तको मृत्यु निद्रामै भएको थियो : पत्नी मार्था एली

फिल्मीखबर, काठमाडौं, 2026/01/12

Martha Aley Wife of Prashant Tamang (Image source/ Martha Aley)

 

चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङले आइतबार बिहान दिल्लीस्थित आफ्नै निवासमा अन्तिम सास लिए । उनको निधन कार्डियक अरेस्ट (मुटुको विद्युत सम्बन्धी गडबडी)का कारण भएको भनिएको छ । यसबारे उनकी पत्नी मार्था एलीले भारतीय मिडिया एएनआइसँग कुरा गर्दै प्रशान्तको मृत्यु स्वभाविक र सुतेकै समयमा भएको बताएकी छन् । 

सापेक्षिक रूपमा कम उमेरमा तामाङको अचानक मृत्युको बारेमा भइरहेको अनुमानबारे एलीले स्पष्ट पार्दै भनेकी छन्, ‘यसमा कुनै शंकास्पद परिस्थिति छैन । यो एक प्राकृतिक मृत्यु थियो । उहाँले हामीलाई छोड्दा उहाँ निद्रामा हुनुहुन्थ्यो । म त्यतिबेला उहाँको छेउमा थिएँ ।’ उनले पोस्टमार्टम रिपोर्ट नआएसम्म केही पनि शंकास्पद कुरा नऔंल्याउन पनि आग्रह गरेकी छन् ।

प्रशान्तको मृत्युपछि विश्वभरका शुभचिन्तकहरूबाट प्राप्त समवेदनाप्रति कृतज्ञता व्यक्त गर्दै उनले भनेकी छन्, ‘सबैलाई धन्यवाद । संसारभरबाट फोन आइरहेका छन् । मैले चिनेका-नचिनेका मानिसहरूले फूलहरू पठाइरहेका छन् । मानिसहरू मेरो घरबाहिर उभिरहेका छन्, अन्तिम पटक उहाँलाई भेट्न अस्पताल आएका छन् । म सबैप्रति कृतज्ञ छु ।’

उनले प्रशान्त महान व्यक्ति रहेको बताएकी छन् । ‘यो मेरो लागि निकै भावुक क्षण हो र कृपया उहाँलाई सधैंभरि यस्तै प्रेम गरिरहनुहोला, जसरी पहिला गर्नुहुन्थ्यो । उहाँ एक महान व्यक्ति हुनुहुन्थ्यो । मलाई विश्वास छ कि तपाईंले उहाँलाई यसरी नै याद गर्नुहुनेछ,’ उनले भनेकी छन् । उनका अनुसार अहिले प्रशान्तको दिल्लीस्थित दीनदयाल अस्पतालमा पोस्टमार्टम भइरहेको छ । 

४३ वर्षको उमेरमा निधन भएका प्रशान्तको पार्थिव शरिरलाई सोमबार जन्मथलो दार्जिलिङमा सम्मानसहित अन्त्येष्टि गर्ने तयारी गरिएको छ । पछिल्लो समय प्रशान्त बलिउड फिल्म र वेब सिरिजमा काम गर्न परिवारसहित दिल्लीमा बस्ने गरेका थिए । उनको अन्तिम फिल्म ‘ब्याटल अफ गलवान’ १७ अप्रिलमा रिलिज हुँदैछ । यो उनको पहिलो बलिउड फिल्म समेत हो ।