अभिनेता सौगात मल्ल आफूले पाएको भूमिकालाई जीवन्त ढंगले पर्दामा उतार्न माहिर छन् । यही कारण उनका फिल्म लगातार असफल भए पनि उनी कामविहीन हुनु परेको छैन । चरित्रमा उनले गर्ने मिहिनेत नै उनको पहिचान बनेको छ । करिअरको सुरुवातदेखि चरित्रमा विविधता पस्किँदै आएका उनी अब नयाँ फिल्म ‘भाइरल गोर्खे’मा अहिलेसम्मकै भिन्न भूमिकामा देखिँदैछन् ।
यो फिल्ममा उनले टिकटकमा भाइरल पात्रको भूमिकामा अभिनय गरेका छन् । रोचक कुरा के छ भने उनी आफू चाहिँ टिकटक बनाउँदैनन् । न त टिकटक नै हेर्छन् । उनले आफ्नो मोबाइलमा टिकटक एप समेत राखेका छैनन् । टिकटकप्रति रुचि नै नभएका उनले फिल्ममा भाइरल पात्रको भूमिकामा अभिनय गर्न कसरी तयार भए ? उनी यसको कारण पटकथालाई मान्छन् ।
‘यसको पटकथा नै राम्रो थियो । यो फिल्म जसलाई अफर गरेको भए पनि कसैले नाइँ भन्न सक्दैन थियो । स्क्रिप्ट त्यति राम्रोसँग लेखिएको छ,’ उनी अगाडि भन्छन्, ‘टिकटकको विषयमा मात्र हुन्थ्यो भने म यो फिल्म गर्दिन थिएँ होला । किनकि, म आफैंले पनि यसको प्रयोग कहिल्यै गरेको छैन । तर, यो फिल्ममा टिकटकको विषयसँगै अरु धेरै पक्ष पनि छन् ।’
.jpg)
फिल्मको कथामा सबै चिज रहेकाले पनि आफूलाई काम गर्न प्रेरित गरेको उनको भनाइ छ । भन्छन्, ‘पात्रको संघर्ष, उसको घर-परिवार सबैलाई कथामा राम्रोसँग बुनिएको छ । यसरी हेर्दा कथामा सबै चिज त छ भन्ने लाग्यो अनि काम गर्न तयार भएँ । फिल्मले दर्शकलाई राम्रो सन्देश दिन्छ भन्ने लाग्छ ।’ फिल्मले भाइरल भएका व्यक्तिप्रति व्यंग्य नगर्ने पनि उनले स्पष्ट पारे ।
‘भाइरल गोर्खे’मा काम गरिसकेपछि पनि सौगातले अझै टिकटक चलाएका छैनन् । तर, उनलाई आफू फिल्ममा नआएको भए टिकटकमा आइसकेको हुने थिएँ भन्ने लाग्छ । भन्छन्, ‘अहिले पनि म परासीमै हुन्थेँ र फिल्म खेल्न पाएको हुन्थिनँ भने सबैले चिनून् भनेर टिकटक बनाउन थालिसकेको हुन्थेँ होला । मैले सानैमा डान्स गर्नुको कारण पनि मलाई सबैले चिनून् भन्ने नै थियो ।’
उनले ‘भाइरल गोर्खे’को ‘बतासले उडाइ ल्यायो’ गीतमा शिव श्रेष्ठको नृत्यको नक्कल समेत गरेका छन् । तर, धेरैले उनको नृत्य शिव श्रेष्ठको जस्तो नदेखिएको टिप्पणी गरेका छन् । उनले चाहेको पनि यही थियो । फिल्ममा आफूले निभाएको पात्र शिव श्रेष्ठको फ्यान भए पनि उसमा प्रतिभा छैन भनेर देखाउन चाहन्थे उनी । यसैले नृत्यमा आफूले खासै मिहिनेत नगरेको सौगात बताउँछन् ।
‘फिल्ममा म दुरुस्तै शिव दाइ जस्तो देखिनु थिएन । मेरो पात्रले उहाँको जस्तै नृत्य गर्न खोजेको छ तर शिव दाइको जस्तो इनर्जी छैन भन्ने नै देखिनुपर्छ भनेर मैले ‘वर्कआउट’ गरेको थिएँ । यसैले मैले शिव दाइको जस्तो नृत्य उतार्न खासै प्रयास नै गरिनँ । जेनतेन प्रयास गरेको छ तर उसमा प्रतिभा चाहिँ केही पनि छैन भन्ने नै देखियोस् भन्ने म चाहन्थेँ,’ उनले भने ।
माघे संक्रान्तिको अवसर पारेर माघ १ गतेबाट प्रदर्शन हुन लागेको ‘भाइरल गोर्खे’मा सौगातको जोडी सृष्टि श्रेष्ठसँग बाँधिएको छ । ब्रेकअपपछि उनीहरूले एकसाथ काम यो पहिलो फिल्म हो । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्ममा सौगात र सृष्टिसहित बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला लगायतको अभिनय रहेको छ ।

