.jpg)
करिब ११ वर्षपछि ‘मातृभूमि’ शीर्षकमा फेरि एकपटक फिल्म बन्ने भएको छ । नाटयकर्मी तथा कलाकार नरेन्द्र सेन्दाङले यो फिल्म बनाउन लागेका हुन् । दिनेश लिङ्देनको कथा तथा निर्देशन रहने फिल्मको छायांकन नेपालको काठमाडौं र पाँचथरसँगै अमेरिकाको टेक्सास र न्युयोर्कमा हुनेछ । फिल्मको केही दिनमा मुहूर्त गरेर छायांकन सुरु गरिँदैछ ।
विदेशमा बस्ने नेपालीको कथाव्यथा र स्वदेशप्रतिको मायालाई मुख्य कथावस्तु बनाएर निर्माण हुन लागेको यस फिल्ममा कलाकार सेन्दाङ स्वयंको मुख्य भूमिका रहनेछ । उनले करिब एक दशकपछि अभिनयमा पुनरागमन गर्न लागेका हुन् । फिल्ममा अन्य कलाकार र प्राविधिक तय हुन बाँकी रहेको जनाइएको छ । फिल्मको कार्यकारी निर्मातामा कविता राई रहेकी छन् ।
मोरङको उर्लाबारीमा जन्मिएका नरेन्द्र व्यावसाय गर्ने सिलसिलामा हङकङ हुँदै हाल अमेरिकाको टेक्सासमा बस्दै आएका छन् । बाल्यकालदेखि नृत्य र साहित्यमा रुचि राख्ने उनले ‘तिम्रै म हो नि’, ‘भेडिगोठ’, ‘पायल’ र ‘फेक फ्रेण्ड’ जस्ता फिल्ममा अभिनय गरेका छन् । उनले अभिनेता राजेश हमाललाई लिएर फिल्म ‘बगर’ पनि बनाएका थिए ।

