Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

धरानमा टाँगियो ‘कुमारी’को विशाल पोस्टर, छपाइको खर्च मात्रै ८० हजार

फिल्मीखबर, काठमाडौं, 2026/01/11

kumari movie

 

प्रणय दिवसको छेको पारेर माघ २३ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘कुमारी’को प्रचार अभियान तीव्र भइरहँदा यसको निर्माण पक्षले लाहुरेको सहरको रुपमा चिनिने धरानको एक भवनमा विशाल पोस्टर राखेको छ । धरानस्थित फ्रेन्ड्स सिनेमा हल रहेको भवनमा ३२०० स्क्वायर फिटको पोस्टर राखिएको हो । यसलाई नेपाली फिल्मकै सबैभन्दा ठूलो पोस्टर दाबी गरिएको छ ।

फिल्मको पोस्टरले ८ तल्ले भवनको सडकपट्टिको भाग पूरै छोपिएको छ । उक्त पोस्टरको छपाइमा मात्र ८० हजार रुपैयाँ खर्च भएको बताइएको छ । धरानको व्यस्त क्षेत्रमै राखिएको पोस्टरले फिल्मप्रति दर्शकको ध्यान तानिरहेको छ । धरानमा जस्तै देशका अन्य प्रमुख सहरमा पनि सोही किसिमको पोस्टर राखिने निर्माण पक्षले जनाएको छ ।

यतिबेला फिल्मको गीत ‘डोको बुन्ने’ चर्चामा छ । यो गीतमाथि एक लाखभन्दा बढी टिकटक भिडियो बनेका छन् भने युट्युबमा भ्यूज १८ लाख नाघिसकेको छ । यस गीतको चर्चाबीच माघ १ देखि फिल्मको प्रचारका लागि देशव्यापी कन्सर्ट गरिँदैछ । पाँचवटा सहरमा हुने कन्सर्टमा गायक केहर सिंह लिम्बू र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ले प्रस्तुति दिने जनाइएको छ ।

दिनेश राउतको निर्देशनमा बनेको यस फिल्ममा अबिषेक खड्का, आकृति राजभण्डारी, घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सरोज लामिछाने, सकु शाह लगायतको अभिनय रहेको छ । महेन्द्र अधिकारी लगानीकर्ता रहेको फिल्ममा विकास सुवेदीको लेखन, सुप्रिम पराजुलीको सम्पादन तथा उत्तम न्यौपानेको साउन्ड डिजाइन छ ।