.jpg)
कोरोना महामारीपछि विश्वमै ओटीटी प्लेटफर्म (ओभर द टप)प्रति दर्शकको आकर्षण बढेको छ । जसले गर्दा ठूलो लगानीमा नयाँ ओटीटी प्लेटफर्महरूको उदय पनि व्यापक रूपमा भइरहेको छ । नेपालमा मात्र अहिले एक दर्जन हाराहारी ओटीटी प्लेटफर्महरू सञ्चालनमा छन् । अब अर्को ओटीटी पनि थपिने भएको छ । त्यो हो, ‘युएनए डिजिटल’ ।
लामो समयदेखि जापानमा नेपाली फिल्म वितरण गर्दै आएका उज्वल गुरागाईंको समूहले उक्त ओटीटी सञ्चालनमा ल्याउन लागेको हो । शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता जगदीश खरेल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले संयुक्त रूपमा ओटीटीको शुभारम्भ गरे ।
युएनए डिजिटलका सीइओ गुरागाईंका अनुसार दर्शकले माघ १८ गते (१ फेब्रुअरी)देखि ओटीटीमा फिल्म, शो र कम्पनी आफैं बनाएका ओरिजिनल सिरिज हेर्न पाउनेछन् । एप्पलको आइओएस र गुगल प्ले स्टोरसहित ब्राउजर र टिभी संस्करणमा उपलब्ध हुने ओटीटीको सब्सक्राइब शुल्कबारे केही दिनमा जानकारी गराइने उनले बताए ।
कन्टेन्टमाथि ६ करोड रुपैयाँ लगानीसहित सञ्चालनमा आउन लागेको यस ओटीटीमा अभिनेता सलोन बस्नेतको फिल्म ‘रुम नम्बर १०८’देखि ‘सम्बन्ध तिम्रो मेरो’, ‘क्राइम इन स्टोरी’, ‘काठमाडौं नाइट’, ‘चोइज’ जस्ता सिरिजहरू रिलिज हुने जनाइएको छ । नेपाल र विदेशका लागि अलग–अलग ‘ओटीटी विन्डो’सहित क्रमशः कन्टेन्ट ल्याउने योजनामा युएनए डिजिटल छ ।
कार्यक्रममा सञ्चारमन्त्री खरेलले बदलिँदो प्राविधिक आयाम र दर्शकको रूचिलाई ‘युएनए डिजिटल’ ओटीटीले पूरा गर्न सक्नुपर्ने बताए । उनले भने, ‘नेपालका फिल्म तथा वेब सिरिजलाई विश्वभर पुर्याउन यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने मलाई लागेको छ । हाम्रा दर्शकले खोजेको मुख्य कुरा कन्टेन छ । राम्रो कन्टेन दिन सकेको खण्डमा यो प्लेटफर्म राम्रो चल्छ ।’

