Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अभिनेता प्रशान्त तामाङको निधन

फिल्मीखबर, काठमाडौं, 2026/01/11

prashant tamang

 

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनको आइतबार बिहान कार्डियक अरेस्ट (मुटुको विद्युत सम्बन्धी गडबडी)का कारण दिल्लीस्थित एक अस्पतालमा निधन भएको हो । उनी ४३ वर्षका थिए । पछिल्लो समय भारतीय फिल्म र वेब सिरिजमा काम गर्न श्रीमती र छोरीसहित उनी दिल्लीमा बस्दै आएका थिए । 

सन् २००७ मा ‘इन्डियन आइडल सिजन ३’को उपाधि जितेका उनले गीतसँगै केही सफल फिल्ममा अभिनय समेत गरेका छन् । सन् २०१० मा रिलिज भएको ‘गोर्खा पल्टन’ उनको पहिलो फिल्म थियो, जुन व्यावसायिक रुपमा सफल भएको थियो । यसपछि उनले ‘अंगालो यो माया’, ‘परदेशी’ जस्ता फिल्ममा अभिनय गरे । उनी पछिल्लो पटक फिल्म ‘पहिचान’मा देखिएका थिए ।

बुबाको निधनपछि उनले परिवारको आर्थिक जिम्मेवारी बोक्न कलकत्ता पुलिसमा जवान पदमा जागिर समेत खाएका थिए । तर, लामो समयसम्म विदामा बसेको कारण देखाउँदै २०७१ सालमा भारतीय प्रहरीले उनलाई सेवाबाट बर्खास्त गरेको थियो । त्यसपछि गायन र अभिनयमा सक्रिय रहेका उनले एक सयभन्दा बढी गीतमा आवाज दिएका छन् । 

‘मन साइँली’, ‘जाउँला रेलैमा सरर’, ‘सिरिमा सिरी बतासै चल्यो’, ‘अरे क्यानम्’, ‘रातो रानी’, ‘असारे महिनामा’ जस्ता थुप्रै लोकप्रिय गीत गाएका उनी पछिल्लो समय गायनभन्दा अभिनयमा सक्रिय थिए । चर्चित भारतीय सिरिज ‘पाताल लोक २’मा उनले स्नाइपरको भूमिकामा गरेको अभिनयका निकै प्रशंसा भएको थियो । यसमा उनले डेनियल लीचूको भूमिका निभाएका थिए । 

प्रशान्तले बलिउड फिल्ममा समेत डेब्यु गरिसकेका छन् । उनले गत महिना मात्र बलिउड सुपरस्टार सलमान खानसँग फिल्म ‘ब्याटल अफ गलवान’मा काम गरेका थिए । यो फिल्म आगामी १७ अप्रिलमा रिलिज हुँदैछ । तर, आफ्नो पहिलो बलिउड फिल्म हेर्न नपाउँदै उनी सधैँका लागि अस्ताएका छन् । उनको निधनले नेपाली फिल्म क्षेत्र स्तब्ध बनेको छ ।