Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भारतका हलमा पनि ‘ऊनको स्वीटर’ले पूरा गर्‍यो ५१ दिन

फिल्मीखबर, काठमाडौं, 2026/01/10

The Woolen Sweater

 

यस वर्षको पहिलो सुपरहिट फिल्म ‘ऊनको स्वीटर’ले नेपालमा ११ करोडमाथिको व्यापार गर्दै ४० भन्दा बढी हलमा प्रदर्शनको ५१ दिन पूरा गरेको थियो । सोही उपलब्धि फिल्मले भारतमा पनि हासिल गरेको छ । गत मंसिर ५ गतेदेखि भारतमा प्रदर्शन सुरु गरेको फिल्मले शनिवार ६ वटा हलमा ५१ दिन मनाएको हो । भारतभर ४० वटा हलमा फिल्म रिलिज भएको थियो ।

चण्डिगढको पिभिआर सेन्ट्रल, लुधियानाको पिभिआर एभोन सिटी मल, सिलिगुडीका आईएनओएक्स सिटी सेन्टर र भेगा सर्कल मल, सिक्किमको आईएनओएक्स वेस्ट पोइन्ट मल तथा लखनउको पिभिआर सहरगन्ज मलमा ५१ दिनसम्म लगातार फिल्म प्रदर्शन भएको निर्देशक नवीन चौहानले जानकारी दिए । उनले यसलाई नेपाली फिल्म क्षेत्रकै ठूलो उपलब्धि मानेका छन् । 

गान्तोकबाट सुरु भएको फिल्मको प्रदर्शन यात्राले नाम्ची, दार्जिलिङ, कालिम्पोङ, कर्स्याङ र सिलिगुडीसहित पूर्वोत्तर भारतमा बलियो पकड बनाएको थियो । यी क्षेत्रका हलमा फिल्मका प्रारम्भिक शोहरू हाउसफुल भएका थिए । निर्देशक चौहानका अनुसार मुम्बई, बैंगलोर, हैदराबाद जस्ता भारतका ठूला सहरमा पनि फिल्मले दर्शकको राम्रो साथ पाएको थियो । 

अन्तरजातीय प्रेमकथामा आधारित यस फिल्ममा विपिन कार्की, मिरूना मगर, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल लगायतको अभिनय रहेको छ । फिल्ममा समावेश ‘फूल’, ‘चाइनेजो जिन्दगानीमा’, ‘काफ्ले’ र ‘मखमली’ गीत दर्शकमाझ निकै लोकप्रिय छन् । यिनै गीतका कारण पनि नेपालमा फिल्मले उत्साहजनक व्यापार गरेको थियो ।