Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यमले ‘मिरमिरे’ बनाउन किन हतार गरे ?

फिल्मीखबर, काठमाडौं, 2026/01/10

YAM SHERPA

 

निर्देशक यम शेर्पाको पहिलो फिल्म ‘कार्साङ’ गत वर्षको पुषमा प्रदर्शन भएको थियो । यो फिल्मले बक्स अफिसमा अपेक्षित व्यापार गर्न नसके पनि उनले लगत्तै अर्को फिल्म ‘मिरमिरे’को निर्माण घोषणा गरे, जुन माघ १ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा यमले ‘कार्साङ’कै जोडी दयाहाङ राई र सिर्जना निङलेखुलाई दोहोर्‍याएका छन् भने प्रकाश सपूतको पनि मुख्य भूमिका छ ।

यो फिल्ममा सबैभन्दा पहिला दयाहाङ अनुबन्ध भएका थिए । तर, फिल्मबाट प्रस्ताव आउँदा उनले केही समयपछि मात्र छायांकन गर्न निर्देशकलाई अनुरोध गरेका थिए । तर, यमले नै हतार गरेपछि बर्खायाममा फिल्मको छायांकन गरिएको थियो । यसै साता आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा ‘मिरमिरे’ बनाउन हतार गर्नुको कारणबारे प्रश्न उठेको थियो ।

यसबारे यमले प्रस्ट पार्दै भनेका छन्, ‘यो रमाइलो कथा थियो । र, यसलाई पर्दामा उतार्न म एकदमै आतुर थिएँ । मैले धैर्य गर्नै सकिनँ । यसैले दया दाईलाई पनि यो कथा चाहिँ भनिहाल्नु पर्छ भनेर झक्झकाइरहेको थिएँ । विश्वमा यतिधेरै फिल्म बन्छन्, कुनै न कुनैमा यो कथा मिल्न गयो भने कपी गरेको आरोप लाग्छ भनेर पनि म आफैंले फिल्म बनाउन हतार गरेको हुँ ।’

दयाहाङले पनि फिल्मको कथा मन परेकाले व्यस्तताका बाबजुद समय निकालेर काम गरेको बताए । उनले भने, ‘मलाई यमले कथा सुनाउँदा रोचक लागेको थियो । तर, मैले अलि पछि छायांकन गरुँ भनेको थिएँ । किनभने, मेरो आफ्नै कार्यव्यस्ता थियो । तर, एउटा निर्देशकको कथा भन्ने सपना पूरा गर्नुपर्छ भनेर बर्खायाममा छोटो समय निकालेर फिल्ममा काम गरेको थिएँ ।’

बाबु-छोरीको भावनात्मक सम्बन्ध र त्रिकोणात्मक प्रेमकथामा आधारित ‘मिरमिरे’मा दयाहाङ, प्रकाश र सिर्जनासहित माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन लगायतको पनि अभिनय रहेको छ । यार्सा फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माताको रूपमा छन् ।