नेपाली रजतपटमा प्रतीक्षित प्रेम कथानक फिल्म 'कुमारी'ले आफ्नो प्रदर्शनअघि नै दर्शकमाझ छुट्टै रौनक फैलाउन सुरु गरेको छ। आगामी माघ २३ गते प्रदर्शन हुने तयारीमा रहेको यस फिल्मले आफ्नो प्रवर्द्धनका लागि 'कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा'को आयोजना गर्ने भएको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा फिल्मका पार्श्व गायक केहर सिं लिम्बु र उनको ब्यान्डले साङ्गीतिक प्रस्तुति दिँदै कन्सर्टको आधिकारिक प्रोमो सार्वजनिक गरेका छन्।

बिग मार्टको प्रस्तुति र किङ्स हिल प्रिमियम पावरमा हुने यो एकीकृत प्रमोशनल टुर देशका प्रमुख सहरहरूमा केन्द्रित रहनेछ। जसअनुसार माघ १ गते नेपालगन्जबाट सुरु हुने यो साङ्गीतिक यात्रा माघ ३ गते पोखरा, माघ ६ गते चितवन हुँदै माघ ९ गते काठमाडौंको भृकुटीमण्डप पुग्नेछ। काठमाडौंको कन्सर्टमै फिल्मको आधिकारिक ट्रेलर सार्वजनिक गर्ने तयारी आयोजकले गरेका छन्। यो साङ्गीतिक यात्रा माघ १७ गते दमकमा पुगेर समापन हुनेछ, जहाँ फिल्मका प्रमुख कलाकारहरू अबिशेक खड्का, आकृति राजभण्डारी र निर्देशक दिनेश राउतको समेत उपस्थिति रहनेछ।

पछिल्लो समय फिल्मको 'डोको बुन्ने निगालो चोयाले' बोलको गीतले चर्चा बटुलिरहेको छ, जसमा केहर सिंह लिम्बुको स्वर र सुमन तामाङको सङ्गीत रहेको छ। निर्देशक दिनेश राउतले फिल्म र सङ्गीतलाई एउटै उत्सवका रूपमा प्रस्तुत गर्न यो देशव्यापी टुरको अवधारणा ल्याइएको बताएका छन्। विकास सुवेदीले लेखेको यस फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन्, जसले नेपाली प्रेम कथामा एक नयाँ इँटा थप्ने अपेक्षा गरिएको छ।

