आगामी माघ १६ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘आ बाट आमा’को शीर्ष गीत ‘सृष्टिकै पहिलो नाम’को नेवारी भर्सन सार्वजनिक गरिएको छ । नेपाली भाषाको गीत दर्शकमाझ लोकप्रिय बनिरहँदा निर्माण पक्षले नेवारी भर्सन तयार पारेको हो । गीतमा यमन श्रेष्ठको स्वर छ भने शब्द तथा संगीत बाबुल गिरीको हो । गीतको नेवारी अनुवाद कलाकार मदनकृष्ण श्रेष्ठले गरेका हुन् ।
सन्तानप्रति आमाको माया, समर्पण र गहिरो लगावलाई व्यक्त गर्ने गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू विपना थापा, प्रदीप रावत र पल शाह प्रस्तुत छन् । निर्देशक चन्द्र पन्तले उक्त गीतलाई अन्य भाषामा पनि रेकर्ड गरिने जानकारी दिए । उनले विभिन्न भाषा-भाषीका दर्शकलाई फिल्मप्रति आकर्षित गर्न यो कदम चालेको देखिन्छ ।
निर्देशक पन्त स्वयंको कथा तथा पटकथा लेखन रहेको फिल्ममा विपना, प्रदीप र पलसहित साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती, विशाल पहाडी, रवीन्द्र झा, रचना गौतम लगायतको पनि अभिनय रहेको छ । आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्मातामा छन् ।
आमा-छोराबीचको भावनात्मक सम्बन्धमा आधारित यस फिल्ममा अमर न्यौपाने, अभिमन्यु निरवी र निर्देशक पन्तको संवाद लेखन, नवराज उप्रेतीको डिओपी, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, कोशिश क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत तथा गम्भीर विष्ट र दीलिप उखेडाको कोरियोग्राफी रहेको छ । यसका कार्यकारी निर्माता करण सिंह हुन् ।

