Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

के प्रेममा छन् ‘कुमारी’का अबिषेक र आकृति ?

फिल्मीखबर, काठमाडौं, 2026/01/09

Abhishek Khadka & Aakristi Raj Bhandari

 

विश्वमै एउटा भनाइ प्रख्यात छ, ‘फिल्मको सेट केवल अभिनयको होइन, प्रेम अंकुराउने थलो समेत हो ।’ यो भनाइ पटक पटक चरितार्थ हुँदै आएको छ । छायांकनको क्रममा कलाकारदेखि निर्माता-निर्देशकसम्म प्रेममा डुबिसकेका हुन्छन् । नेपाली फिल्म क्षेत्रमा यस्ता उदाहरण धेरै छन् । यसैले अचेल कलाकारहरूको अभिनयभन्दा प्रेमको चर्चा बढी हुने गर्छ ।

यतिबेला दुई नयाँ अनुहारको प्रेम सम्बन्धबारे फिल्म क्षेत्रमा गाइँगुइँ चर्चा चल्न थालेको छ । ती हुन्, अबिषेक खड्का र आकृति राजभण्डारी । आगामी माघ २३ गतेबाट प्रदर्शन हुन लागेको लभस्टोरी फिल्म ‘कुमारी’मा उनीहरूले मुख्य भूमिकामा अभिनय गरेका छन् । फिल्मका दुईवटा कार्यक्रममा उनीहरूबीच देखिएको आत्मीयताले पनि बजारको चर्चालाई मलजल गरेको छ । 

बिहीबार साँझ काठमाडौंमा फिल्मको देशव्यापी कन्सर्टबारे जानकारी दिन आयोजित कार्यक्रममा अबिषेक र आकृति एकसाथ पुगेपछि पत्रकारले दुवैलाई प्रश्न गरे- ‘के प्रेममा हुनुहुन्छ ?’ प्रश्न सुनेपछि उनीहरूको हाँसो रोकिएन । तर, अबिषेकले तत्कालै जवाफ दिन पनि सकेनन् । एकछिन सोचेपछि उनले आफूहरू राम्रो साथी मात्र रहेको प्रतिक्रिया दिए । 

उनले भने, ‘हामी राम्रो साथी हौं । एकदमै मिल्छौं । र, एकअर्कासँग नजिक पनि छौं । फिल्मले गर्दा पनि हामीलाई नजिक बनायो ।’ यति भन्दै गर्दा उनले छेवैमा उभिएकी आकृतिलाई सोधे, ‘त्यस्तो त भएको छैन होला ?’ । आकृतिले हाँस्दै मुन्टो हल्लाएर ‘छैन’ भनिन् । उनले आफूहरू एकदमै राम्रो साथी रहेको बताउँदै अबिषेकसँग काम गर्दा धेरै कुरा सिक्न पाएको बताइन् ।

‘कुमारी’मा प्रेम जोडीको रूपमा प्रस्तुत भएका अबिषेक र आकृति ‘डोको बुन्ने’ गीत लोकप्रिय बनेपछि चर्चाको केन्द्रमा छन् । उनीहरूको केमेस्ट्रीलाई दर्शकले रुचाएका छन् । ‘कुमारी’ आकृतिको पहिलो फिल्म हो भने अबिषेकले यसअघि फिल्म ‘बेहुली फ्रम मेघौली’मा अभिनय गरेका थिए । दुवै ‘कुमारी’लाई लिएर उत्साहित देखिन्छन् ।