
नेपाली फिल्मकी प्रथम अभिनेत्री भुवन चन्दलाई पतिशोक परेको छ । उनका श्रीमान् माइकल चन्द (हरिश)को शुक्रबार बिहान ७७ वर्षको उमेरमा निधन भएको हो । २००६ सालमा सुदूरपश्चिममा जन्मिएका उनका तीन छोरी छन्, जो हाल अमेरिकामा छन् । उनीहरू नेपाल आएपछि शनिबार चन्दको अन्त्येष्टि गरिने पारिवारिक स्रोत जनाएको छ ।
चन्द सन् १९७० को दशकदेखि रेडियो नेपालमा अंग्रेजी समाचार वाचकको रुपमा आबद्ध भएका थिए । समाचार वाचनसँगै उनले सञ्चालन गर्ने ‘म्यूजिक हावर’ कार्यक्रम निकै चर्चित थियो । ३३ वर्ष रेडियो नेपालमा विताएका उनी सन् २००४ मा सेवानिवृत्त भएका थिए । उनले जर्मनीको गोथे इन्स्टिच्युटमा पनि लामो समय काम गरेका थिए ।
सन् १९७६ मा उनको विवाह अभिनेत्री भुवन चन्दसँग भएको थियो । एक वर्षअघि एक अन्तर्वार्तामा चन्दले भुवनको प्रशंसा गर्दै भनेका थिए, ‘उनी जस्तो समझदार श्रीमती पाउनु सबैको भाग्यमा हुँदैन । उहाँलाई मेरो जीवनमा पाएकोमा आफूलाई एकदमै भाग्यशाली ठान्छु ।’ उनले भुवनको पहिलो फिल्म ‘आमा’ आफूले स्कुलमा पढाउँदा हेरेको पनि स्मरण गरेका थिए ।
६ दशकदेखि अभिनयमा सक्रिय भुवनले १५ वर्षको उमेरमा पहिलो फिल्म ‘आमा’मा काम गरेकी थिइन्, जुन सन् १९६४ मा रिलिज भएको थियो । ‘आमा’ हेरेपछि तत्कालीन राजा महेन्द्रले उनलाई बलिउड हिरोइनभन्दा कम नभएको भन्दै प्रशंसा गरेका थिए । आफ्नो करिअरमा दुई दर्जनभन्दा बढी फिल्ममा काम गरेकी भुवन पछिल्लो पटक फिल्म ‘सेल्फी किङ’मा देखिएकी थिइन् ।

