
महाशिवरात्रिको अवसर पारेर फागुन १ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘शिवांश-१’को टिजर सार्वजनिक गरिएको छ । एक मिनेटभन्दा लामो टिजरले फिल्म धार्मिक कथावस्तुमा आधारित रहेको संकेत गर्छ । टिजरमा एक पात्र शरीरभरि खरानी घसेर ध्यान गरिरहेका देखिन्छन् । ती पात्र कलाकार प्रवीण खतिवडा जस्ता देखिए पनि अनुहार प्रस्ट देखिएको छैन ।
टिजरमा एउटा न्यारेसन पनि सुनिन्छ, ‘सुरुवात नै अन्त्य हो र अन्त्य नै शिवांश ।’ शिवांश नामले भगवान् शिवलाई जगाउँछ । यसको मतलब फिल्मको कथा भगवान् शिवसँग सम्बन्धित छ । यद्यपि, टिजरमा कथा स्पष्ट नखुलेकाले त्यसका लागि ट्रेलरसम्म पर्खिनै पर्ने देखिन्छ । टिजरका संवाद र सीजिआई दृश्यले भने दर्शकमा कौतुहलता सिर्जना गरेको छ ।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको फिल्मको निर्देशन सन्तोष कुमार आत्रेयले गरेका हुन् । अञ्जान केसीको लगानी र कथा लेखन रहेको यस फिल्ममा प्रवीण खतिवडा, तेज गिरी, रुषा न्यौपाने, विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी (पिके डन), उदय कुमार सुब्बा, टीका निरौला लगायतको अभिनय देख्न सकिनेछ ।
शोभा भण्डारी र अनिष केसी बोगटी सह-निर्माता रहेको फिल्मको पटकथा बारत लिम्बूले तयार पारेका हुन् । यसमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीत रचना छ भने संगीत न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीले दिएका छन् । शरद महत्तोको छायांकन रहेको फिल्ममा बनिष शाहको सम्पादन, विक्रम चोहानको कोरियोग्राफी तथा मिलन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

