Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

दर्शकले संवाद नबुझेपछि ‘एक्लो’मा राखियो नेपाली सबटाइटल

फिल्मीखबर, काठमाडौं, 2026/01/08

 

नेपालको पहिलो साइन्स-फिक्सन फिल्म ‘एक्लो’ले घरेलु बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेको छैन । फिल्मलाई दर्शकीय प्रतिक्रिया पनि मिश्रित प्राप्त छ । पहिलो साताको व्यापार अपेक्षा अनुरुप नभएपछि दोस्रो सातामा फिल्मका धेरै शो गुमिसकेका छन् । यद्यपि, निर्माण पक्ष ‘वर्ड अफ माउथ’को प्रभावले व्यापार वृद्धि हुनेमा अझै आशावादी देखिन्छ । 

यो फिल्मले अपेक्षित रुपमा दर्शकको साथ नपाउनुलाई धेरैले यसमा प्रयोग अंग्रेजी संवाद मुख्य कारण मानेका छन् । फिल्ममा ७० प्रतिशतभन्दा बढी अंग्रेजी संवाद छ । यसले दर्शकलाई कथा बुझ्न समेत गाह्रो भएको गुनासो आएपछि निर्माण पक्षले दोस्रो सातामा फिल्ममा दुईवटा महत्त्वपूर्ण परिवर्तन गरेको छ । त्यो हो, नेपालीमा डबिङ र नेपाली सबटाइटल । 

निर्देशक प्रदीप शाहीका अनुसार दर्शकले अब फिल्म हेर्दा अंग्रेजी संवादलाई नेपाली सबटाइटलमार्फत पढ्न पाउनेछन् । रोबोट पात्रको संवादलाई पनि नेपालीमा डब गरिएको उनले बताए । बाहिरका दर्शकलाई कथा बुझाउने सोचले अंग्रेजी संवाद बढी प्रयोग गर्दा घरेलु दर्शक अलमलिएको महसुस भएपछि फिल्ममा रि-डबिङ र नेपाली सबटाइटल थपिएको उनको भनाइ छ ।

हल भ्रमणको क्रममा फिल्मप्रति युवा दर्शकको उत्साह देख्दा खुसी लागेको पनि उनले बताएका छन् । भन्छन्, ‘युवाहरूले अन्तिम दृश्यमा हुटिङ गरेको र फिल्मपछि ‘एक्लो-भर्स’बारे छलफल गरेको देख्दा खुसी लागेको छ । फिल्मले बिस्तारै आफ्नो घरेलु दर्शक भेट्टाउँदैछ ।’ उनका अनुसार ‘एक्लो-१’ले दोस्रो भाग ‘एक्लो २ : द राइज अफ कल्की’का लागि मजबुत जग खडा गरेको छ ।

प्रदीप खड्का, विजय लामा, सुनील थापा, दीया पुन, बेनिशा हमाल लगायतका कलाकारहरूको अभिनय रहेको यो फिल्म यही सातादेखि यूके, कतार, बहराइन लगायतका देशहरूमा पनि प्रदर्शन हुँदैछ । एनआरएन समूहको लगानी र विनोद सुवेदी ‘क्षितिज’ कार्यकारी निर्माता रहेको यो फिल्मको दोस्रो भाग सन् २०२७ मा बन्ने जनाइएको छ ।