Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘१२ गाउँ २’ र ‘छ माया छपक्कै २’को भिडन्तबारे के भन्छन् दीपक ?

फिल्मीखबर, काठमाडौं, 2026/01/08

Deepak Raj Giri

 

विभिन्न समयमा दसैँलाई नेपाली निर्माताहरूले आफ्नो पेवाजस्तै बनाउँदै आएका छन् । कुनै बेला दसैँ नै रेखा थापाको भनिन्थ्यो । बर्सेनि दसैँमा उनका फिल्म रिलिज हुन्थे । पछिल्लो समय दीपकराज गिरी समूहले दसैँ कब्जा गर्दै आएको छ । गत वर्षबाट दसैँमा विराज भट्ट पनि थपिएका छन् । अब आगामी दसैँ पनि दीपकराज र विराजले नछाड्ने भएका छन् । 

दीपकराज समूह चैतमा फिल्म ‘छ माया छपक्कै २’ निर्माण गर्ने तयारीमा छ । दीपेन्द्र लामाको निर्देशनमा बन्ने यो फिल्मलाई दसैँको फूलपातीमा रिलिज गरिँदैछ । फूलपातीमै विराजले आफ्नो सफल फिल्म ‘१२ गाउँ’को दोस्रो श्रृंखला ल्याउँदैछन् । दसैँमा अर्को फिल्म ‘झिँगेदाउ २’ पनि प्रदर्शन हुने तय भइसकेको छ । यसरी हेर्दा आगामी दसैँमा तीन फिल्म आउने निश्चित देखिन्छ । 

तर, यतिबेला चर्चा भने ‘१२ गाउँ २’ र ‘छ माया छपक्कै २’को सम्भावित भिडन्तलाई लिएर भइरहेको छ । दीपकराज र विराज दोस्रो पटक बक्स अफिसमा भिड्न लागेका हुन् । गत दसैँमा उनीहरूको फिल्म ‘छक्का पन्जा ५’ र ‘१२ गाउँ’ एकैसाथ रिलिज भएका थिए । र, दुवै सफल भए । अब दोस्रो पटकको प्रतिस्पर्धा कस्तो रहन्छ, त्यो धेरैका लागि चासोको विषय बनेको छ । 

तर, दीपकराजले जतिवटा फिल्म एकसाथ रिलिज भए पनि सबैभन्दा पछाडि आफ्नो फिल्म हेरिदिन दर्शकलाई आग्रह गरेका छन् । बिचमा प्रतिस्पर्धालाई अस्वस्थ बनाइएकोमा असन्तुष्टि व्यक्त गर्दै उनले बुधवार पत्रकारसँगको एक भेटमा भने, ‘मैले सधैँ भन्ने गरेको छु कि फिल्म जुध्ने होइन, एकै दिन लाग्ने हो । हाम्रो फिल्म अरूको भन्दा पछाडि हेर्दिनुहोला तर हेर्दिनुहोला ।’