‘रकिङ स्टार’को रुपमा परिचित कन्नड अभिनेता यशको आगामी फिल्म ‘टक्सिक’को परिचयात्मक टिजर सार्वजनिक भएको छ । यशको जन्मदिनको अवसरमा सार्वजनिक झन्डै तीन मिनेट लामो टिजरले उनको चरित्रको झलक प्रस्तुत गरेको छ । ‘राय’ पात्रको भूमिकामा रहेका उनलाई टिजरमा एक्सन अवतारमा प्रस्तुत गरिएको छ भने उनका केही ‘बोल्ड सिन’ पनि समावेश छन् ।
टिजरको सुरुवात समाधि स्थलबाट हुन्छ, जहाँ एक पात्र उच्च सुरक्षाबीच कसैलाई श्रद्धाञ्जली दिन पुगेका छन् । त्यही बेला यश सवार गाडी नियोजित रुपमा रुखमा आएर ठोकिन्छ । र, गाडीभित्रै एक युवतीसँग उनले रोमान्स गरिरहँदा अचानक समाधि स्थलमा विस्फोट हुन्छ । त्यसपछि हातमा मेसिन गन लिएर सिगार तान्दै यशले भनेका छन्, ‘ड्याडिज् होम’ ।
टिजरको सबैभन्दा सशक्त पक्ष यसको प्रभावशाली ब्याकग्राउन्ड स्कोर र भव्य दृश्य प्रस्तुति हो, जसले दर्शकमा फिल्मप्रति उत्सुकता र थ्रिल महसुस गराउँछ । यशको लुक्स भने ‘केजीएफ’ श्रृंखलासँग तुलना गर्दा खासै फरक देखिँदैन । उनी लामो दाह्रीसहित प्रस्तुत छन् । टिजरले उनको पात्र सन्की र हिंसक स्वभावको रहेको प्रस्ट पार्छ ।
फिल्मको निर्माता यश आफैं हुन् । उनको प्रोडक्सन कम्पनी मोन्स्टर माइन्ड क्रिएशन्सको ब्यानरमा निर्माण भएको फिल्मलाई गीतु मोहनदासले निर्देशन गरेकी हुन् । उनले यसअघि हिन्दी फिल्म ‘लायर्स डाइस’ र मलयालम फिल्म ‘मूथोन’ निर्देशन गरेकी थिइन् । यो फिल्म मार्च १९ मा रिलिज हुँदैछ । यही मितिमा बलिउडको कीर्तिमानी फिल्म ‘धुरन्धर’को दोस्रो श्रृंखला पनि रिलिज हुँदैछ ।

