.jpg)
आगामी माघ १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मिरमिरे’को ट्रेलर सार्वजनिक गरिएको छ । मङ्गलवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै दर्शकमाझ ल्याइएको तीन मिनेट लामो ट्रेलरमा फिल्मको कथावस्तुबारे संक्षिप्तमा प्रकाश पारिएको छ । बाबु-छोरीको भावनात्मक सम्बन्ध, मातृत्व अभाव र त्रिकोणात्मक प्रेमकथामा फिल्म आधारित रहेको ट्रेलरले प्रस्ट पार्छ ।
आमा विदेशिएपछि छोरीले महसुस गर्ने मातृत्वको अभाव र त्यस अवस्थामा बाबुले निर्वाह गर्ने भावनात्मक भूमिकालाई ट्रेलरमा मर्मस्पर्शी रूपमा देखाइएको छ । साथै, दयाहाङ राई, प्रकाश सपूत र सिर्जना सुब्बाबीचको त्रिकोणात्मक प्रेमले कथामा महत्त्वपूर्ण मोड ल्याउने संकेत गरेको छ । ट्रेलर हेर्दा निर्देशकले ‘मेटाफोरिकल’ (प्रतीकात्मक) रूपमा पनि कथा भन्न खोजेको देखिन्छ ।
यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा दयाहाङ, प्रकाश र सिर्जनासहित माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ, नमनराज गजुरेल लगायतको पनि अभिनय रहेको छ । यार्सा फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माताको रूपमा छन् ।
यस फिल्ममा आलोक शुक्लाको छायाङ्कन, भूपेन्द्र अधिकारी र निमेष श्रेष्ठको सम्पादन, कोविद ब्रजको ब्याकग्राउन्ड स्कोर तथा प्रकाश सपूत र मनोज थापा मगरको सङ्गीत रहेको छ । फिल्ममा गोविन्द बोहरा र सुदिप कुँवर सह-निर्माता तथा रोहित कट्टेल कार्यकारी निर्मातामा छन् । फिल्मको देशभर वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ ।

