Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

टिकटकमा छायो ‘कुमारी’को ‘डोको बुन्ने’ गीत, युट्युबमा प्रशंसाको ओइरो

फिल्मीखबर, काठमाडौं, 2026/01/06

 ABISHEK KHADKA, AAKRITI RAJBHANDARI

 

तिहारमा प्रदर्शन भएको फिल्म ‘वरिष्ठ बलराम’को ‘न्याउली वनैमा’ गीतपछि फिल्मी गीतहरू खासै चर्चामा आउन सकेका थिएनन् । यो खडेरीलाई फिल्म ‘कुमारी’को ‘डोको बुन्ने’ गीतले केही हदसम्म तोड्ने काम गरेको छ । ६ दिनअघि सार्वजनिक भएको उक्त गीत अहिले दर्शकमाझ लोकप्रिय बनिरहेको छ । गीतले युट्युब र टिकटक दुवै प्लेटफर्ममा राम्रो प्रभाव जमाएको छ ।

युट्युबमा ११ लाखभन्दा बढीले हेरिसकेको गीत टिकटकमा भाइरल नै बनेको छ । अहिलेसम्म लगभग ४० हजारले टिकटकमा भिडियो बनाइसकेका छन् । गीतका गायक केहर सिंह लिम्बूको टिकटक अकाउन्टबाट मात्र भिडियो बनाउनेको संख्या २५ हजारभन्दा बढी छ । गीतको मुख्य हरफ ‘डोको बुन्ने निगालो चोयाले, ज्यानै खायो त्यो तिम्रो मायाले’मा बढी टिकटक बनेका छन् ।

यस्तै, युट्युबमा गीतलाई प्रशंसाको ओइरो लागेको छ । प्रायःले केहरको आवाज मन पराएका छन् । भिडियोको कोरियोग्राफी, छायांकन, मेकिङ, र फिल्मका मुख्य जोडी अबिषेक खड्का र आकृति राजभण्डारीको केमेस्ट्री पनि उतिक्कै रूचाइएको छ । युट्युबमा प्राप्त प्रतिक्रियाहरू हेर्दा गीतले युवापुस्ताका दर्शकलाई फिल्म हेर्न अधैर्य बनाएको देखिन्छ ।

केहर सिंह लिम्बूको स्वरमा रहेको गीतमा सागर लामिछाने मगर र सुमन तामाङको शब्द तथा सुमन तामाङ र केहर स्वयंको संगीत छ । लोकलयमा आधारित यस गीतमा चिठ्ठीमार्फत प्रेमपत्र लेख्ने समयदेखि रोधी बस्ने प्रचलनसम्मका प्रसंग समेटिएको छ, जसले दर्शकलाई पुरानो समयको स्मृतिमा लैजान्छ । भिडियोका कोरियोग्राफर शिशिर खाती हुन् ।

‘आइ एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता रोमान्टिक फिल्ममार्फत दर्शकमाझ चिनिएका दिनेश राउतले ‘कुमारी’को निर्देशन गरेका हुन् । आगामी माघ २३ गतेबाट प्रदर्शन हुने यो फिल्ममा अबिषेक र आकृतिसहित घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ लगायतको अभिनय रहेको छ । यसका निर्माता महेन्द्र अधिकारी हुन् ।