प्रणय दिवसको छेको पारेर माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रमिताको पिरती’को नयाँ गीत ‘जुनीभर’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीको यस गीतमा महेश काफ्लेको शब्द, संगीत र स्वर छ । गायनमा उनलाई अस्मिता अधिकारीले साथ दिएकी छिन् । गीतमा युवकले युवतीलाई जुनीभर आफ्नो बनाउन चाहेको भावना व्यक्त छ ।
कृतिका बरालको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य जोडी आना शर्मा र विनय श्रेष्ठलाई प्रस्तुत गरिएको छ । भिडियोमा उनीहरूको नोकझोंक र रोमान्टिक दृश्यहरू देख्न सकिन्छ । तराईका हराभरा फाँटदेखि नदीको बगरसम्मका सुन्दर दृश्यलाई पृष्ठभूमिमा राखेर तयार पारिएको भिडियोमा आना र विनयको केमेस्ट्री आकर्षक देखिएको छ ।
सुदिप्ताको निर्देशनमा बनेको यस फिल्ममा आना र विनयसहित समीर श्रेष्ठ, धीरज मगर, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, थिन्ले ल्हामो लगायतका कलाकारहरूले अभिनय गरेका छन् । गायक समीरको यो डेब्यु फिल्म हो । सुदिप्ता स्वयंको लेखन रहेको फिल्ममा शिशिर विशाङ्खेको डीओपी तथा सुनिल सिवाकोटीको सम्पादन छ ।
आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको यस फिल्ममा आरपी प्रोडक्सन, गणेश पाण्डे, सुभाष कोइराला, र प्रवेश लामिछाने एसोसिएट निर्माताको रुपमा छन् । फिल्ममा समीर श्रेष्ठ, सुशान्त केसी, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत रहेको छ । फिल्मले एक युवतीको जीवन, संघर्ष, प्रेम र आरोह-अवरोहलाई प्रस्तुत गरेको छ ।

