Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सौगातलाई ‘दाइ’ भनेकोबारे सृष्टिको प्रष्टीकरण : ‘टङ स्लिप भयो’

फिल्मीखबर, काठमाडौं, 2026/01/05

Saugat Malla, Shristi Shrestha

 

अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठबीचको विगतको सम्बन्ध ‘ओपन सेक्रेट’ छ । उनीहरूले ६ वर्ष लामो प्रेम सम्बन्धलाई ३ वर्षअघि अन्त्य गरेका थिए । प्रेममा रहँदा चारवटा फिल्ममा एकसाथ काम गरेका उनीहरूको ब्रेकअपपछि व्यावसायिक सहकार्य नहुने अनुमान धेरैले गरेका थिए । तर, फिल्म ‘भाइरल गोर्खे’मा सहकार्य गरेर उनीहरूले सबैलाई चकित तुल्याए । 

ब्रेकअपपछि लामो समय एकअर्कासँग बोलचाल समेत नगरेका सौगात र सृष्टि यतिबेला फिल्मको प्रचारमा एकसाथ हिँडिरहेका छन् । यसैक्रममा केही दिनअघि फिल्मको ट्रेलर रिलिज कार्यक्रममा सृष्टिले सौगातलाई ‘दाइ’ भनेपछि सामाजिक सञ्जालमा व्यापक ट्रोल बनेको छ । सोमबार पत्रकार भेटघाटमा उनले यसबारे प्रष्टीकरण दिएकी छन् ।

उनले भनिन्, ‘कार्यक्रममा मलाई पत्रकारले सौगात दाइसँग काम गर्दा कस्तो अनुभव भयो भनेर सोध्नुभएको थियो । मैले त्यही ‘फ्लो’मा उहाँलाई ‘दाइ’ भन्न पुगेछु । मैले जानेर चाहिँ भनेको थिइनँ । उहाँलाई मैले ‘दाइ’ भन्ने गरेको छैन । उहाँलाई सौगात नै भन्छु । ‘दाइ’ भन्नु ‘टङ स्लिप’ थियो ।’ उनले आफ्नो छेवैमा बसेका सौगाततिर हेर्दै दाइ भनेकामा माफी समेत मागिन् ।

सृष्टिले आफूलाई ‘दाइ’ भनेकोमा सौगातलाई भने केही फरक परेको रहेनछ । उनी भन्छन्, ‘उहाँले ‘दाइ’ भन्दा मेरो ‘रियाक्सन’ केही पनि थिएन । मलाई थाहा थियो, त्यो ‘टङ स्लिप’ थियो भन्ने । र, मलाई यो पनि थाहा थियो कि अब यो कुरालाई लिएर अरुले भन्ने ठाउँ पाए भनेर । तर, यो एकदमै सामान्य हो । मेरो पनि कतिपटक ‘टङ स्लिप’ भइरहेको हुन्छ ।’

पत्रकार भेटघाटमा सौगात र सृष्टिले एकअर्कासँग काम गर्दाको अनुभव पनि सुनाए । सौगातले सृष्टिसँग काम गर्न आफूलाई सहज लाग्ने बताए । सृष्टिले पनि सोही कुरा दोहोर्‍याइन् । सौगातको मिहिनेत र संघर्षप्रति आफूले सधैं सम्मान गर्ने बताउँदै उनले ‘भाइरल गोर्खे’ दुवैका लागि राम्रो होस् भन्ने कामना गरिन् । उनले सौगातको काम संसारले देखोस् भन्ने इच्छा पनि व्यक्त गरेकी छन् ।