
प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिँदै गर्दा कलाकारहरूको राजनीतिक सक्रियता बढ्दै गएको छ । फिल्ममा स्थापित कलाकारहरू विभिन्न राजनीतिक दलमा आबद्ध भइरहेका छन् । अब यो सूचीमा अभिनेत्री लक्ष्मी बर्देवा पनि थपिएकी छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट राजनीतिमा होमिएकी हुन् । उनलाई पार्टीको केन्द्रीय सदस्यमा नै बनाइएको छ ।
उनी काठमाडौं महानगरका प्रमुख बालेन शाहको टिमबाट रास्वपाको केन्द्रीय सदस्य बनेकी हुन् । त्यसका लागि उनको नाम बालेन नै सिफारिस गरेको बताइन्छ । आइतबार रास्वपाको केन्द्रीय समिति बैठकले उनीसहित ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीय गरेको हो । उक्त सूचीमा बालेन पनि छन् । लक्ष्मीले केही दिनमा पद तथा गोपनीयताको शपथ लिने जनाइएको छ ।
रास्वपामा कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी समाहित नभएको हुन्थ्यो भने लक्ष्मी समानुपातिक उम्मेदवार बन्ने निश्चित थियो । त्यसका लागि बालेनको टिमबाट उनको नाम सिफारिस भएको थियो । तर, घिसिङ नेतृत्वको पार्टीले रास्वपासँग एकता गर्ने भएपछि उनको नाम काटियो । त्यसपछि उनलाई पार्टीको केन्द्रीय सदस्यमा प्रस्ताव गरिएको थियो ।
फिल्म र रंगमञ्चमा आफूलाई अब्बल कलाकारको रुपमा स्थापित गरेकी लक्ष्मी पछिल्लो पटक फिल्म ‘अभिमन्यू’मा देखिएकी थिइन् । उनले फिल्म ‘बुलबुल’मा गरेको अभिनय सम्झनलायक मानिन्छ । ‘घामपानी’, ‘विच्क्षेद’, ‘सेल्फी किङ’, ‘चङ्गा’ जस्ता एक दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी उनी अब फिल्म र राजनीतिलाई सँगसँगै लैजाने योजनामा छिन् ।

