Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राप्रपा प्रवेश गर्न लागेका हुन् रमेश ?

फिल्मीखबर, काठमाडौं, 2026/01/05

Ramesh Upreti

 

अभिनेता रमेश उप्रेती राजसंस्था पक्षधर मानिन्छन् । उनले सार्वजनिक मञ्चहरूमा खुलेरै देश बचाउन राजाको विकल्प नभएको भन्ने अभिव्यक्ति दिइरहेका हुन्छन् । यसैले उनको छवि नै राजावादी कलाकारको रूपमा बनेको छ । यस्तैमा, उनले राजतन्त्रको माग गर्ने पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गरेपछि त्यसले राजनीतिक र फिल्म वृतमा तरंग ल्याएको छ । 

रमेशले आइतबार फेसबुकमा ‘दाजु-भाइको कफी भेट’ भन्दै अध्यक्ष लिङ्देनसँगको एक तस्वीर सेअर गरेका छन् । उक्त पोस्टको कमेन्टमा धेरैले राष्ट्रवादी व्यक्ति एकै ठाउँमा हुनुपर्छ भन्दै सहकार्यका लागि शुभकामना दिएका छन् । राप्रपा अध्यक्ष लिङ्देनले पनि सोही तस्वीर फेसबुकमा पोस्ट गर्दै रमेशलाई ‘राष्ट्रवादी कलाकार’को संज्ञा दिएका छन् । 

उनले लेखेका छन्, ‘प्रखर राष्ट्रवादी कलाकार- जो देश रहे पो कलाकार, देश नै नरहे कहाँको कलाकार ? देश जोगाउन राजसंस्था अपरिहार्य छ भन्ने धारणा राख्नु हुन्छ ।’ उनको पोस्टको कमेन्टमा धेरैले रमेश देशलाई माया गर्ने र राजसंस्था चाहिन्छ भन्ने व्यक्ति भएको भन्दै राप्रपामा स्वागत गरेका छन् भने कतिले भेट फलदायी रहोस् भन्दै शुभकामना दिएका छन् ।

देश आम निर्वाचनको संघारमा रहेको समयमा रमेशले राप्रपाका अध्यक्षसँग भेट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यो भेटपछि उनी राप्रपामा प्रवेश गर्न लागेको चर्चा मात्र चलेको छैन, उनी सोही पार्टीबाट प्रत्यक्षतर्फ चुनाव लड्न लागेको हुनसक्ने आशंका पनि उब्जिएको छ । यद्यपि, यसबारेमा रमेशले कुनै प्रतिक्रिया जनाएका छैनन् ।