
तमिल सुपरस्टार थलापति विजय करिब एक वर्षपछि नयाँ फिल्म ‘जन नेता’मा देखिँदैछन् । यही जनवरी ९ मा रिलिज हुन लागेको यो फिल्म उनका प्रशंसकका लागि यसकारण पनि खास छ कि यो विजयको अन्तिम फिल्म हो । अब उनी अभिनय करिअर छाडेर पूर्णकालीन राजनीतिमा होमिँदैछन् । त्यसका लागि उनले आफ्नो नेतृत्वमा पार्टी समेत गठन गरिसकेका छन् ।
यसैबीच, शनिबार फिल्मको हिन्दीसहित तीन भाषामा ट्रेलर सार्वजनिक गरिएको छ । एक्सन दृश्यले भरिएको ट्रेलरमा विजयसहित बबी देओल, प्रकाश राज, पूजा हेगडे लगायतका सबै प्रमुख कलाकारलाई स्थान दिइएको छ । बबी भिलेनको भूमिकामा देखिएका छन् । फिल्ममा विजयसँग उनको घमासान लडाइँ हुने संकेत ट्रेलरले दिन्छ ।
ट्रेलरमा विजयलाई प्रहरीको भूमिकामा देख्न सकिन्छ । उनकी छोरीमाथि आपराधिक समूहले दुर्व्यवहार गरेपछि कथाले महत्त्वपूर्ण मोड लिएको देखिन्छ । भारतलाई ध्वस्त पार्न खोज्ने पात्रविरुद्ध उनले गरेको लडाइँलाई पनि सशक्त ढंगले देखाइएको छ । ट्रेलरमा एक्सन र भावनात्मक पक्षको सन्तुलित संयोजनले दर्शकमाझ फिल्मप्रति उत्सुकता थपेको छ ।
एच. विनोथको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म तमिल भाषामा ‘जन नायकन’ शीर्षकमा रिलिज हुँदैछ । विजयको अन्तिम फिल्म भएकाले यसले भारतमा कीर्तिमानी ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । तेलुगु भाषामा समेत बनेको यो फिल्ममा विजयले पारिश्रमिक मात्र २७५ करोड लिएका छन्, जुन यसअघि भारतमा कुनै कलाकारले पाएका छैनन् ।

