
आमा-छोराको भावनात्मक सम्बन्धको कथामा आधारित फिल्म ‘आ बाट आमा’मा नेवारी गीत पनि समावेश गरिने भएको छ । दुई साताअघि युट्युबमा सार्वजनिक भएको फिल्मको शीर्ष गीत ‘सृष्टिकै पहिलो नाम’लाई निर्माण पक्षले नेवारी भाषामा रेकर्ड गराएको छ । गीतमा गायक तथा कलाकार यमन श्रेष्ठले स्वर दिएका छन् । उनी चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठका छोरा हुन् ।
बाबुल गिरीको शब्द रचना रहेको गीतलाई नेवारीमा गाउन पाउँदा एकदमै खुशी लागेको यमनले बताए । गीतको शब्दलाई नेवारी भाषामा अनुवाद गर्न बुबाले सघाएको बताउँदै उनले भने, ‘गीतको नेवारी शब्द पनि आफैंले मिलाउनुपर्ने भएपछि मैले बुबालाई अनुवाद गर्न आग्रह गरेको थिएँ । गीतलाई बुबाले नेवारी भाषामा बनाइदिनुभएको हो ।’
नेपाली भाषामा यो गीतलाई ‘नेपाल आइडल-२’का विजेता रवि ओडले गाएका छन् । गीतले सन्तानप्रति आमाको माया, समर्पण र लगावलाई मर्मस्पर्शी रुपमा प्रस्तुत गरेको छ । निर्माण पक्षले यो गीतमा गायन र अभिनयसम्बन्धी प्रतियोगिताको समेत घोषणा गरेको छ । उक्त गीतमा कभर गाउने र अभिनय गर्नेले ५० हजार नगद पुरस्कार पाउने जनाइएको छ ।
आगामी माघ १६ गतेबाट प्रदर्शन हुन लागेको यस फिल्ममा विपना थापा, प्रदीप रावत (गजनी भिलेन), पल शाह, विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी, दीलिप उखेडा, रचना गौतम लगायतको अभिनय रहेको छ । चन्द्र पन्तको निर्देशनमा बनेको फिल्ममा ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्मातामा छन् ।

