.jpg)
फिल्म ‘मन बिनाको धन’ले घरेलु बक्स अफिसमा सुखद् व्यापार गरेपछि यसका निर्देशक टंक बुढाथोकी अर्को फिल्मको तयारीमा जुटेका छन् । उनले शुक्रबार शीर्षकसहित नयाँ फिल्मको निर्माण घोषणा गरे । उनले आफ्नै चर्चित गीत ‘बा-आमा’ नाममा फिल्म बनाउन लागेका हुन् । टंकसहित अशोक दर्जी, एआर बुढाथोकी र विक्रम थापाले उक्त गीत गाएका थिए ।
फिल्मको निर्देशन टंक स्वंयले गर्नेछन् भने मुख्य भूमिकामा अशोक र एआर देखिने जनाइएको छ । उनीहरूले ‘मन बिनाको धन’मा पनि मुख्य भूमिका निभाएका थिए । फिल्ममा अन्य कलाकारको छनोट प्रक्रिया भने बाँकी रहेको निर्देशक बुढाथोकीले जानकारी दिए । उनका अनुसार फिल्मको शीर्षक चलचित्र विकास बोर्डमा दर्ता भइसकेको छ ।
टंक स्वयंको कथामा बन्न लागेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखिरहेका छन् । टंकका अनुसार स्क्रिप्ट लेखन अन्तिम चरणमा पुगेको छ । फिल्मको कथा ‘बा-आमा’ गीतबाट प्रेरित हुने स्पष्ट पार्दै उनले भने, ‘स्क्रिप्ट लेखनको काम सकिएपछि मात्र कलाकार छनोटको प्रक्रिया सुरु गर्नेछौँ । आगामी बैशाखदेखि छायांकन सुरु गर्ने योजना छ ।’
यो फिल्म पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित हुने जनाइएको छ । टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्ममा विष्णुमाया मैनाली निर्माताको रुपमा छिन् । यसअघि ‘मन बिनाको धन’को पनि निर्माण गरेकी उनले पहिलो फिल्मबाटै मुनाफा भएपछि आफू दोस्रो फिल्मको निर्माणमा जुटेको बताएकी छन् ।

