.jpg)
‘मोक्ष’ निर्देशक प्रवीण श्रेष्ठले १२ वर्षपछि निर्देशनमा कमब्याक गरेको फिल्म ‘बब डाइ’को छायांकन सकिएको छ । बिहीबार कीर्तिपुरमा अन्तिम दृश्य खिच्दै ४२ दिनमा फिल्मको छायांकन पूरा भएको हो । कीर्तिपुरभन्दा अगाडि चन्द्रागिरी क्षेत्रमा फिल्मको छायांकन गरिएको थियो । स्क्रिप्टका दृश्यको सम्पूर्ण छायांकन सकिए पनि दुई गीत भने खिच्न बाँकी राखिएको छ ।
रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्म्सको सहकार्यमा निर्माण भएको फिल्ममा सौगात मल्ल, सिम्रन पन्त, सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन लगायतको अभिनय रहेको छ । फिल्ममा सौगातले बब डाइको भूमिका निभाएका छन् । नेवारी भाषामा दाइलाई डाइ भनिन्छ ।
राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर निर्माता रहेको फिल्ममा मैनिषा गौचन र प्रवीन श्रेष्ठको लेखन छ भने श्याम तामाङ छायाँकारमा छन् । फिल्मको सम्पादन निर्देशक श्रेष्ठ आफैंले गर्नेछन् । यसमा कोरियोग्राफीको रुपमा किरण थापा र सृष्टि महर्जन रहेका छन् भने शंकर महर्जनको द्वन्द्व निर्देशन छ । फिल्मले कीर्तिपुरको मौलिक कथा भन्ने जनाइएको छ ।

