अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले ब्रेकअपपछि पहिलो पटक एकसाथ काम गरेको फिल्म ‘भाइरल गोर्खे’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै दर्शकमाझ ल्याइएको चार मिनेट लामो ट्रेलरमा एक पात्रको कथा देखाइएको छ, जो टिकटकमा भाइरल हुन चाहन्छ । त्यसका लागि उसले गर्ने संघर्ष ट्रेलरमा देख्न सकिन्छ ।
गोर्खाको पाँडे गाउँमा केन्द्रित रहेर फिल्मले कथा भनेको छ । त्यहाँको गोर्खे पात्र (सौगात मल्ल) शिव श्रेष्ठजस्तै चर्चित बन्न चाहन्छ । त्यसका लागि उसले टिकटकको साहरा लिन्छ र भाइरल हुन विभिन्न हर्कत गर्छ । त्यसक्रममा उसको प्रेम र व्यक्तिगत जीवनमा आउने उतारचढावलाई ट्रेलरमा समेटिएको छ । ट्रेलर हेर्दा फिल्मले भाइरल हुने प्रवृत्तिप्रति व्यंग्य गरेको देखिन्छ ।
यसअघि ‘छड्के’, ‘लालपूर्जा’ र ‘छड्के २’ जस्ता फिल्मका निर्देशक निगम श्रेष्ठले ‘भाइरल गोर्खे’को निर्देशन गरेका हुन् । उनी स्वयंको कथा लेखन रहेको यस फिल्ममा सौगात र सृष्टिसहित बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला पत्रकार, रवि भुजेल, पवित्रा साकी मिस पवी लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।
एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माताको रूपमा छन् । अमर महर्जनको छायांकन तथा बन्दे प्रसाद, रवि चौधरी र भीम विश्वकर्माको सम्पादन रहेको यो फिल्म माघे सङ्क्रान्तिको दिन पारेर माघ १ गतेबाट प्रदर्शन हुँदैछ ।

