
अभिनेता अनुप विक्रम शाहीका लागि सन् २०२५ जीवनकै सबैभन्दा यादगार वर्ष रह्यो । यो वर्ष उनले बलिउड सुपरस्टार सलमान खानसँग वार ड्रामा ‘ब्यालट अफ गलवान’मा काम गर्ने अवसर पाए । फिल्ममा उनको धेरैजसो दृश्य सलमानसँगै छ । आफूले बच्चैदेखि पर्दामा हेर्दै आएको स्टारसँग स्क्रिन सेअर गर्न पाएकोमा उनी आफूलाई भाग्यमानी ठान्छन् ।
मंगलबार काठमाडौंमा आयोजित ‘रोडिज ७’का विजेतालाई पुरस्कार हस्तान्तरण कार्यक्रममा सञ्चारकर्मी कुराकानी गर्दै उनले भने, ‘मेरो लागि यस वर्षको सबैभन्दा यादगार पल सलमान सरसँग काम गर्नु रह्यो । जसलाई मैले बच्चादेखि पर्दामा हेर्दै आएको थिएँ, उहाँसँगै एउटै फिल्ममा काम गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको छु । यो मेरो जीवनमा कहिल्यै नमेटिने पल हो ।’
उनी सलमानको स्वभावबाट पनि निकै प्रभावित भएका छन् । भन्छन्, ‘उहाँ एकदमै ‘डाउन टू अर्थ’ र ‘हम्बल’ हुनुहुन्छ । त्यति ठूलो स्टार हुँदा पनि उहाँ एकदमै साधारण पाएँ । कतिपय कुरामा उहाँलाई नराम्रो हिसाबले चित्रित गरिन्छ । तर, उहाँलाई जे देखाइन्छ, त्यस्तो हुनुहुन्न । २५-३० दिन उहाँसँग काम गर्दा घमण्ड भन्ने कहिल्यै देखिनँ ।’
उनले सलमानले नै रोजेका कारण आफूले ‘गलवान’मा काम गर्न पाएको पनि खुलासा गरेका छन् । भन्छन्, ‘सलमान सरले गर्दा मैले यो फिल्म खेल्न पाएको हुँ । कलाकारको नाम ‘सर्टलिस्ट’ हुँदा उहाँले मलाई मन पराउनुभयो । त्यसपछि फिल्म साइन गरेको हुँ ।’ छायांकन सेटमा उच्च सुरक्षाका बीच पनि आफूले सलमानसँग सहज रुपमा भेट्ने र लञ्च गर्ने गरेको उनले स्मरण गरे ।

