
हरेक नयाँ वर्षमा फिल्म रिलिजको बाढी आउने गरेको छ । यो समयमा उल्लेख्य रूपमा दर्शकहरू हलमा आउने विश्वासमा नयाँ वर्षको मिति रोज्न निर्माताहरूबीच तछाडमछाड नै हुने गर्छ । आगामी नयाँ वर्षमा पनि बक्स अफिसमा ठूलो भिडन्त हुने भएको छ । नयाँ वर्ष २०८३ को छेको पारेर यस वर्षको अन्तिम शुक्रबार नेपाली फिल्मबीच त्रिपक्षीय भिडन्त हुन लागेको हो ।
विराज भट्टको मुख्य भूमिका रहेको फिल्म ‘राम नाम सत्य’ र विपिन कार्की अभिनीत फिल्म ‘काजी’ले चैत २७ गतेलाई प्रदर्शन मिति तय गरिसकेको अवस्थामा अब उक्त मितिमा रेखा थापा स्टारर फिल्म ‘छत्तिसको आँकडा’ पनि थपिएको छ । मंगलबार फिल्मका वितरक रोहित कट्टेलले फेसबुकमार्फत चैत २७ गतेलाई प्रदर्शन मिति घोषणा गरेका हुन् ।
रोचक कुरा के छ भने विराज र रेखा एक दशकपछि बक्स अफिसमा आमनेसामने हुँदैछन् । डेढ दशकअघि ‘किस्मत’, ‘देवर बाबु’, ‘शिलशिला’, ‘हिम्मत’, ‘रक्षक’, ‘दुर्गा’ जस्ता थुप्रै सफल फिल्ममा सहकार्य गरेका उनीहरूबीच पछिल्लो समय तिक्ततापूर्ण सम्बन्ध छ । यसैले उनीहरूको भिडन्त हेर्न दर्शकलाई पनि रोचक हुने देखिन्छ ।
सविर श्रेष्ठको निर्देशनमा बनेको ‘छत्तिसको आँकडा’मा रेखासहित निरुता सिंह, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का लगायतको पनि अभिनय रहेको छ । निरुताले यही फिल्मबाट ६ वर्षपछि अभिनयमा पुनरागमन गरेकी हुन् । दुश्मनजस्तै रहेका दिदी-बहिनीको सम्बन्धको कथामा आधारित यस फिल्ममा बाबुराम निरौला र शिवम् अधिकारीको लेखन रहेको छ ।

