
यसअघिका हरेक आम निर्वाचनमा राजनीतिक दलहरूका लागि भीड जम्मा गर्ने र भोट बटुल्ने साधनका रूपमा मात्र प्रयोग हुँदै आइरहेका कलाकारहरूलाई यसपटक भने वैकल्पिक शक्ति भनिएका नयाँ दलहरूले राजनीतिमा अघि बढ्ने अवसर दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मात्र ६ जना कलाकारलाई समानुपातिक उम्मेदवारको बन्द सूचीमा राखेको छ ।
रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा गायक, अभिनेता तथा निर्देशक प्रकाश सपूतलाई ७४ औं नम्बरमा राखिएको छ । दलित क्लस्टरतर्फ उनी दोस्रो नम्बरमा छन् । क्लस्टरको पहिलो नम्बरमा रहेका डा. रूपक विश्वकर्मा घिमिरे (आयुष्मान) पनि कलाकार हुन् । पेशाले चिकित्सक भए पनि उनले ‘चकलेट’ नामक फिल्ममा अभिनय गरेका छन् ।
त्यस्तै, अभिनेत्री तथा उद्घोषिका रीमा विश्वकर्मा पनि रास्वपाको समानुपातिक सूचीमा अटाएकी छन् । उनी दलित महिला क्लस्टरतर्फ पहिलो नम्बरमा छिन् भने नागरिकताको हिज्जे अनुसार ८० औं स्थानमा छिन् । उनी कुलमान घिसिङ समूहकी हुन् । घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी रास्वपामा समाहित हुनुअघि उनी त्यस पार्टीको केन्द्रीय सदस्य थिइन् ।
अभिनेता तथा निर्माता आसिफ शाहलाई पनि रास्वपाले समानुपातिक उम्मेदवार बनाएको छ । उनी मुस्लिम क्लस्टरतर्फ पहिलो नम्बरमा छन् । यसअघि उनका दाइ तथा फिल्म निर्देशक असिम शाह पनि रास्वपाबाट समानुपातिक सांसद बनेका थिए । अबको निर्वाचनमा भने उनी प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा रहेको बताइन्छ ।
रास्वपाबाट गायिका तथा ‘काँडेतार’ फिल्मकी निर्मात्री सत्यकला राई पनि समानुपातिक उम्मेदवारको सूचीमा परेकी छन् । उनी आदिवासी जनजाति क्लस्टरबाट उम्मेदवार बनेकी हुन् । सोही क्लस्टरमा अर्की गायिका डा. त्रिशाला गुरूङको पनि नाम समावेश गरेर आयोगमा बुझाइएको छ । त्रिशाला घिसिङ समूहबाट समानुपातिक सूचीमा परेकी हुन् ।
रास्वपासँगै एमालेले पनि एकजना कलाकारलाई समानुपातिक उम्मेदवार बनाएको छ । सोमबार राति एमालेले निर्वाचन आयोगमा बुझाएको सूचीमा महिला क्लस्टरतर्फ गायिका तथा अभिनेत्री कोमल वलीको नाम समेटिएको छ । समानुपातिक उम्मेदवारका लागि दाङबाट सिफारिस भएकी उनी यसअघि एमालेबाटै ४ वर्ष राष्ट्रिय सभा सदस्य बनेकी थिइन् ।

