
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो परिचयको आयाम फराकिलो बनाएका छन् । राजनीतिमा कुशल छवि बनाएका उनले फिल्म ‘बिगुल’मार्फत आफूलाई गीतकार र संगीतकारको रूपमा पनि प्रस्तुत गरेका छन् । फिल्मका लागि उनले तयार पारेको गीत ‘जनताको आवाज’ आइतबार सार्वजनिक गरिएको छ । यसमा राजेश पायल राईको स्वर सुन्न सकिन्छ ।
राष्ट्रिय झण्डासहित देशमा सुशासन, विकास र शान्तिको सन्देश फैलाउन फिल्मका कलाकारहरू घरदैलो अभियानमा लागेको गीतको भिडियोमा देख्न सकिन्छ । देश प्रतिनिधि सभा निर्वाचनको माहोलमा होमिरहेका बेला सार्वजनिक गरिएको यस गीतले जनतामा राजनीतिक चेतना, सामाजिक दायित्व, र देशप्रेमको बोध गराउने अपेक्षा गरिएको छ ।
रमेश कोइरालाको निर्देशनमा बनेको यस फिल्ममा बेनिशा हमाल, रमेश बुढाथोकी, नरेन खड्का, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिघिरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मा लगायतको अभिनय रहेको छ । कल्पना पौडेल प्रस्तुतकर्ता रहेको फिल्ममा सूर्य कान्त कोइराला र महेश कोइराला सह-निर्मातामा छन् ।
फिल्ममा प्रदिप भारद्वाज र मौनता श्रेष्ठको पटकथा तथा संवाद, शिव ढकालको छायाङकन, कमल राई र कविराज गहतराजको नृत्य, एनबी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत तथा तारा थापा किम्भेको सम्पादन रहेको छ । यो फिल्म आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउँदैछ ।

