Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कार्साङ’ जोडीलाई ‘मिरमिरे’मा किन दोहोर्‍याइयो ?

फिल्मीखबर, काठमाडौं, 2025/12/28

yam sherpa

 

नेपाली फिल्ममा एउटै जोडी पटक-पटक दोहोरिएका उदाहरण धेरै छन् । विशेषगरी दर्शकको रोजाइमा परेका कलाकारको जोडीलाई मेकरहरूले फिल्ममा दोहोर्‍याइरहेका हुन्छन् । पछिल्लो समय दयाहाङ राई र मिरुना मगरको जोडी सबैभन्दा धेरै दोहोरिरहेका बेला दयाहाङको नयाँ जोडी बनेर सिर्जना निङलेखु पनि एकपछि अर्को फिल्ममा देखिन थालेकी छन् ।

दयाहाङ र सिर्जनाले पहिलो पटक फिल्म ‘कार्साङ’मा सहकार्य गरेका थिए । यसमा श्रीमान्-श्रीमतीको भूमिका निभाएका उनीहरू अब नयाँ फिल्म ‘मिरमिरे’मा देखिँदैछन् । संयोग चाहिँ के छ भने उनीहरूलाई तिनै निर्देशकले दोहोर्‍याएका हुन्, जसले ‘कार्साङ’ निर्देशन गरेका थिए । अर्थात् ‘कार्साङ’का निर्देशक यम शेर्पाले ‘मिरमिरे’ निर्देशन गरेका हुन् । 

दयाहाङ र सिर्जनालाई आफ्नो दोस्रो फिल्ममा पनि दोहोर्‍याउनुको कारणबारे निर्देशक शेर्पा भन्छन्, ‘एकपटक काम गरिसकेपछि त्यही व्यक्तिसँग काम गर्न सहज हुने रहेछ । पहिलोपटक काम गर्दा नै उसको काम गर्ने तरिका, शैली र आनीबानी राम्रोसँग थाहा हुन्छ । दयाहाङ र सिर्जना दुवैसँग मैले पहिलो फिल्ममा सँगै काम गरेकाले सहज हुने ठानेर दोहोर्‍याएको हुँ ।’ 

फिल्मको कथाले पनि दयाहाङ र सिर्जना जस्तै पात्र मागेको उनको दाबी छ । भन्छन्, ‘स्क्रिप्ट लेख्दा नै मेरो दिमागमा दयाहाङ र सिर्जना हुनुहुन्थ्यो । कथाको माग र ‘कार्साङ’मा काम गर्दाको अनुभवको आधारमा सहजताको अपेक्षाले उहाँहरूसँग पुनः सहकार्य गरेको हुँ ।’ दयाहाङ र सिर्जनासँग काम गर्न ‘मिरमिरे’मा अझ सहज र रमाइलो भएको उनले बताए । 

आगामी माघ १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्ममा दयाहाङ र सिर्जनासहित प्रकाश सपूत, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, दिविशा पन्त, चिराग श्रेष्ठ, नमनराज गजुरेल, शाइसा गौचन (बाल कलाकार) लगायतको अभिनय रहेको छ । छोरीले आफ्नो बुवालाई गर्ने माया र छोरीका लागि बुवाले गर्ने त्यागको कथामा फिल्म आधारित छ ।