
‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित तेस्रो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आगामी बैशाखदेखि सुरु हुने भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच वन मन्त्री माधव चौलागाईं, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेता शिव श्रेष्ठ लगायतले महोत्सवको औपचारिक शुभारम्भ गरे ।
नेपाली फिल्मको प्रवर्द्धनसँगै फिल्म पर्यटनको सम्भावनालाई उजागर गर्ने उद्देश्यले आयोजना हुँदै आएको यो महोत्सवले सहरदेखि गाउँसम्म फिल्म र पर्यटनलाई जोड्ने लक्ष्य लिएको महोत्सवका निर्देशक चक्रबहादुर चन्दले बताए । उनका अनुसार महोत्सवले कर्णालीका कथा, संस्कृति, जीवनशैली, भाषा, भेषभुषा र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्नेछ ।
उनले कार्यक्रममा भने, ‘कर्णालीका कथालाई फिल्ममा रूपान्तरण गर्न हामीले कथा आह्वान गरेका छौँ । उत्कृष्ट कथालाई बैशाखमा सम्मान गरिनेछ र सम्भव भए फिल्म निर्माण पनि गरिनेछ ।’ फिल्ममार्फत पर्यटन प्रवर्द्धन र जलवायु परिवर्तनसम्बन्धी सन्देश प्रवाह गर्नु महोत्सवको अर्को महत्त्वपूर्ण उद्देश्य रहेको पनि उनले स्पष्ट पारे ।
कार्यक्रममा बोल्दै वन मन्त्री माधव चौलागाईंले मौलिक कथाका लागि कर्णाली उत्कृष्ट ‘हटस्पट’ रहेको बताए । यो महोत्सवले कर्णालीको भाषा, संस्कृति र भेषभुषा विश्वमा चिनाउने विश्वास व्यक्त गर्दै उनले अगाडि भने, ‘कर्णालीको आत्मविश्वास बढाउने प्रमुख माध्यम नै फिल्म हो । कला भनेको यस्तो माध्यम हो, जसले छोटो समयमा मानिसको सोच परिवर्तन गर्न सक्छ ।’
यस महोत्सवका सद्भावना दूत प्रदीप खड्काले कर्णालीलाई दयाको दृष्टिले नभइ गौरवको दृष्टिले हेर्नुपर्नेमा जोड दिए । ‘कर्णाली हाम्रो भाषा, साहित्य, कला र संस्कृतिको उद्गमस्थल हो । नेपाली फिल्म ढिला सुरु भए पनि मौलिकतामा हामी पछि छैनौँ । यदि नेपाली फिल्मलाई नयाँ उचाइमा लैजाने हो भने त्यसको केन्द्र कर्णाली हुन सक्छ,’ उनले भने ।
कर्णाली महोत्सव चार चरणमा सञ्चालन हुने जनाइएको छ । पहिलो चरणअन्तर्गत सुर्खेतमा बैशाख ४ गते, दोस्रो चरणमा बैशाख ५ गते गुराँस चलचित्र पर्यटन संवाद, बैशाख २६ गते काठमाडौंमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र पर्यटन तथा जलवायु अवार्ड र जेठ २७ गते जुम्ला तातोपानी पर्यटन चलचित्र जलवायु समिट आयोजना हुनेछ ।

