Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘एक्लो’को कलेज केन्द्रित प्रचार: विद्यार्थीसँग फिल्मबारे संवाद

फिल्मीखबर, काठमाडौं, 2025/12/24

eklo

 

नेपाली फिल्मका लागि साइन्स फिक्सन विधा नयाँ हो । हलिउड र बलिउडमा यो विधामा थुप्रै फिल्म बनिसकेका भए पनि नेपालमा पहिलो पटक विज्ञान र प्रविधिमा आधारित रहेर फिल्म ‘एक्लो-१’ बनेको छ । दुई साताअघि सार्वजनिक भएको ट्रेलर हेर्दा फिल्ममा वैज्ञानिक आविष्कार, अन्तरिक्ष यात्रा, र भविष्यका सम्भावनाजस्ता विषयहरू समावेश गरिएको देखिन्छ । 

यो फिल्मको विषयवस्तु अनुसार यसको लक्षित दर्शक मुख्यतः युवापुस्ता हुन् । यसैले फिल्मको निर्माण समूहले पनि सोही अनुसार प्रचार अभियान सञ्चालन गरिरहेको छ । केही दिनयता फिल्मका कलाकारदेखि निर्देशकसम्म काठमाडौंका विभिन्न कलेजहरूमा पुगेर ‘जेनजी पुस्ता’का विद्यार्थीहरूलाई फिल्मबारे जानकारी दिइरहेका छन् ।

केही दिनअघि फिल्मको टिम काठमाडौँको मन्डीकाटारमा रहेको ‘गेट कलेज’ पुगेको थियो । त्यहाँ टुरिजम र हस्पिटालिटी विषयमा अध्ययन गरिरहेका विद्यार्थीहरूसँग फिल्मका कलाकारहरू प्रदीप खड्का, कविता नेपाली र निर्देशक प्रदीप शाहीले साक्षात्कार गरे । मंगलबार ललितपुरस्थित चौधरी ग्रुप अन्तर्गतको ‘च्यापियन कलेज’मा पनि पुगेर फिल्मको टिमले प्रचार गर्‍यो । 

आगामी साता अर्थात् १७ पुषबाट प्रदर्शनमा आउन लागेको यस फिल्ममा प्रदीप र कवितासहित विजय लामा, सुनील थापा, दीया पुन, बेनिशा हमाल, दिनेश डीसी, सुरजसिंह ठकुरी, बेलायती अभिनेता जेमी बेकन लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । एनआरएन समूहको लगानी रहेको फिल्मको निर्मातामा प्रदीप खड्का पनि छन् ।