
अभिनयमा स्थापित कलाकारहरू निर्देशक बनेका उदाहरण विश्वमा धेरै छन् । तर, निर्देशकहरू भने विरलै अभिनयमा उत्रिएका छन् । अब यस दुर्लभ सूचीमा निर्देशक राजन भुसाल थपिने भएका छन् । गत वर्ष प्रदर्शन भएको फिल्म ‘एक्टर : टेक वन’बाट निर्देशकीय यात्रा सुरु गरेका उनले नयाँ फिल्म ‘जिरो डिग्री’मार्फत अभिनयमा डेब्यु गर्न लागेका हुन् ।
भुसाल यस फिल्मका कथाकार समेत हुन् । ‘जिरो डिग्री’को निर्देशन भने सजन काफ्ले र आकाश बरालले संयुक्त रूपमा गर्दैछन् । उनीहरूले यसअघि फिल्म ‘बेहुली फ्रम मेघौली’ निर्देशन गरेर चर्चा कमाइसकेका छन् । दुवैको यो डेब्यु निर्देशकीय फिल्म थियो । आकाशले राजनलाई ‘एक्टर : टेक वन’को लेखनमा समेत सघाएका थिए ।
मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मको पटकथा तथा संवाद निर्देशकद्वय काफ्ले र बरालले तयार पारेका छन् । यसको कथावस्तु सडक नपुगेको एक दुर्गम गाउँमा केन्द्रित छ, जहाँ आमाबुवाको निधन भएपछि विदेशमा रहेका छोराछोरी नआइपुग्दासम्म शव सुरक्षित राख्न डीप फ्रिज बोकेर गाउँ भित्र्याएपछि सिर्जना हुने घटनाक्रमलाई प्रस्तुत गरिएको छ ।
आगामी वर्ष प्रदर्शनमा ल्याउने तयारी गरिएको फिल्ममा मोती कार्की कार्यकारी निर्माताको रूपमा छन् । निशाल पौडेलले छायाङ्कन गर्ने फिल्मका गीतमा अङ्कित बाबु अधिकारीले सङ्गीत भर्नेछन् भने चर्चित गीत ‘काफ्ले’का रचनाकार युवराज काफ्लेले गीत लेख्नेछन् । यस फिल्ममा कीर्तिमानी अभिनेता विजय बरालको मुख्य भूमिका रहनेछ ।

