Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गोबर गणेश’को शीर्ष गीत : बल्छी धुर्बेको दिमाग एआईभन्दा फास्ट

फिल्मीखबर, काठमाडौं, 2025/12/23

Marichman, Barsha Siwakoti

 

चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)को डेब्यु निर्देशकीय फिल्म ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक गरिएको छ । रमाइलो शैलीमा तयार पारिएको यस गीतमा निर्देशक श्रेष्ठ स्वयंको स्वर रहेको छ भने शब्द तथा संगीत बाबुल गिरीको हो । सबै काममा अब्बल पात्र पढाइमा भने कमजोर रहेको कुरालाई गीतमा रोचक ढंगले प्रस्तुत गरिएको छ । 

गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोमा मरिचमानसँगै वर्षा सिवाकोटी, निर्मल शर्मा, पदम तामाङ, पुजन घिमिरे (पुकु) लगायत कलाकारलाई देख्न सकिन्छ । भिडियोका केही दृश्यमा मरिचमान सुटबुटमा ठाँटिएर प्रस्तुत भएका छन् भने केहीमा उनी विद्यालयको पोशाकमा देखिएका छन् । गीतले फिल्ममा उनको पात्र पढाइमा कमजोर रहेको खुलासा गर्छ ।

आगामी माघ १ गतेबाट प्रदर्शन हुन लागेको यो फिल्ममा विनोद न्यौपाने, लक्ष्मीनाथ तिमल्सिना, सन्तोष बानियाँ, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, बुद्धि तामाङ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । बल्छी धुर्बे फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा शिवराम श्रेष्ठको डीओपी तथा विपिन मल्लको सम्पादन रहेको छ । 

निर्देशक श्रेष्ठले आफूले दर्शक हँसाउनका लागि फिल्म बनाएको बताएका छन् । उनले भनेका छन्, ‘यसभित्र मेरो अनगिन्ती सपना, पसिना र मौन प्रार्थना मिसिएको छ । हामीलाई सानो पर्दामा जसरी दर्शकले साथ र माया दिनुभयो, त्यस्तै माया र साथ ठूलो पर्दाका दर्शकले पनि दिनुहुन्छ भन्ने पूर्ण विश्वास छ । हामीले यो फिल्म दर्शकलाई हँसाउन बनाएका हौं ।’