Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

९ वर्षपछि फिल्ममा फर्किएका गणेश भन्छन्, ‘काम भइरह्यो भने नेपालमै बसिन्छ’

फिल्मीखबर, काठमाडौं, 2025/12/23

ganesh upreti

 

पछिल्लो समय नेपाली फिल्ममा पुरानो पुस्ताका कलाकारहरूको कमब्याकको लहर नै चलेको छ । पूजा चन्द, विपना थापा, राजबल्लभ कोइराला लगायतका कलाकारले कमब्याक गरिसकेको अवस्थामा करिब ९ वर्षपछि अभिनेता गणेश उप्रेती पनि फिल्म अभिनयमा फर्किएका छन् । उनको कमब्याक फिल्म ‘झरीपछिको इन्द्रेणी’ यतिबेला हलमा प्रदर्शनरत छ ।

फिल्मले घरेलु बक्स अफिसमा अपेक्षित व्यापार गर्न नसकेको भए पनि दर्शककीय प्रतिक्रिया सकारात्मक देखिन्छ । फिल्म हेरेका प्रायःले गणेशको अभिनयकै सबैभन्दा बढी प्रशंसा गरेका छन् । फिल्ममा उनले इमान्दार वडा सचिव (गणेश शर्मा)को भूमिकामा जीवन्त अभिनय गरेका छन् । उनी यो फिल्मको मेरुदण्ड हुन् भन्दा फरक पर्दैन । 

कमब्याक फिल्ममा नै आफ्नो अभिनयको प्रशंसा हुँदा गणेश गद्‍गद् देखिन्छन् । भन्छन्, ‘फिल्मलाई जुन किसिमको प्रतिक्रिया मिलिरहेको छ, त्यसबाट म अत्यन्त खुसी छु । दर्शकहरूले फिल्मको कथा र हरेक पात्रमा आफूलाई ‘रिलेट’ गर्नुभएको पाएँ, जुन एकदमै सुखद पक्ष हो ।’ उनले आफूले सोचेको भन्दा फिल्म चार गुणा राम्रो बनेको समेत दाबी गरे ।

धेरैमा उनी अब फेरि अमेरिका फर्किन्छन् कि नेपालमै बसेर फिल्ममा सक्रिय हुन्छन् भन्ने जिज्ञासा देखिएको छ । यसबारे उनी भन्छन्, ‘अहिलेसम्म फर्किने कि यहीँ बस्ने भन्ने टुंगो छैन । केही फिल्ममा कुरा भइरहेको छ । निरन्तर काम भइरह्यो भने नेपालमै बसिन्छ, त्यसमा दुई मत नै छैन । तर, टिम र भूमिका राम्रो हुनुपर्‍यो । अब म ‘झरीपछिको इन्द्रेणी’मा जस्तै भूमिका गर्न चाहन्छु ।’