
आगामी माघ १ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मिरमिरे’को शीर्ष गीत ‘मिरमिरे भो’ सार्वजनिक गरिएको छ । लोक लयमा आधारित यस गीतमा प्रकाश सपूत र मेलिना राईको स्वर रहेको छ भने शब्द तथा संगीत प्रकाश स्वयंको हो । गीतमा युवायुवतीबीचको प्रेम, आकर्षण र आपसी प्रशंसालाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ ।
अभी लामाको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखुलाई देख्न सकिन्छ । भिडियोमा प्रकाश र सिर्जनाले आकर्षक नृत्य प्रस्तुत गरेका छन् भने दयाहाङलाई नृत्यमा खासै जोड दिइएको छैन । गीतले फिल्ममा त्रिकोणात्मक प्रेमकथाको संकेत गरेको छ ।
यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा दयाहाङ, प्रकाश र सिर्जनासहित माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ, नमनराज गजुरेल लगायतको पनि अभिनय रहेको छ । यार्सा फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माताको रुपमा छन् ।
बाबु-छोरीबीचको भावनात्मक सम्बन्धको कथामा आधारित यस फिल्ममा आलोक शुक्लाको छायांकन, भुपेन्द्र अधिकारी र निमेष श्रेष्ठको सम्पादन तथा प्रकाश सपूत र मनोज थापा मगरको संगीत रहेको छ । फिल्ममा गोविन्द बोहरा र सुदिप कुँवर सह-निर्माता र वितरक समेत रहेका रोहित कट्टेल कार्यकारी निर्मातामा छन् ।

