Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मंसिरका फिल्मको व्यापार : ‘पीआर’ले साढे ६ लाख कमाउँदा ‘चिराग’को ६८ हजार

फिल्मीखबर, काठमाडौं, 2025/12/22

movie

 

यस वर्षको मंसिर महिनामा नेपाली फिल्मको व्यापार निकै दयनीय देखिएको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस तथ्यांक अनुसार मंसिरमा प्रदर्शन भएका ५ फिल्मले एक करोडको पनि व्यापार गर्न सकेका छैनन् । मंसिरमा सबैभन्दा कम व्यापार गर्नेमा फिल्म ‘चिराग’को रहेको छ । यसले गत शनिबारसम्म ६८ हजार ४५० रुपैयाँ ग्रस कमाएको छ ।

‘चिराग’पछि न्यून व्यापार फिल्म ‘लोकन्ती’को देखिन्छ । यसले पुष ५ गते शनिबार ११ः५५ बजेसम्म घरेलु बक्स अफिसमा ४ लाख १ हजार ३४० रुपैयाँ मात्र कमाएको छ । शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘पीआर’को व्यापार पनि उस्तै उदेकलाग्दो छ । यसले प्रदर्शनको ९ दिनमा जम्मा ६ लाख ६८ हजार ६३३ रुपैयाँ ग्रस व्यापार गरेको छ । 

मंसिरका दुई फिल्म ‘हर्ष’ र ‘अभिमन्यु’ले भने २० लाखको आँकडा पार गरेका छन् । ‘हर्ष’ले शनिबारसम्म २८ लाख ७८ हजार ५३६ रुपैयाँ र ‘अभिमन्यु’ले २१ लाख ४८ हजार ७०२ रुपैयाँ ग्रस कमाएका छन् । यसरी हेर्दा मंसिरमा कुनै फिल्मले लगानी उठाउन सकेको देखिँदैन । यी ५ फिल्मबाट करिब ५ करोड रुपैयाँ ‘बालुवामा पानी’ खन्याएजस्तै भएको छ ।

गत कात्तिक १४ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘परान’ले भने ५१ दिनसम्म १७ करोड ६१ लाख ५ हजार २८८ रुपैयाँ ग्रस व्यापार गरेको बोर्डको तथ्यांकमा देखिन्छ । यसको ६ लाख २५ हजार ६२५ वटा टिकट बिक्री भएका छन् । योसँगै ‘परान’ यस वर्षको सबैभन्दा धेरै कमाउने फिल्मसँगै इतिहासमा सर्वाधिक व्यापार गर्ने चौथो फिल्म बनेको छ ।