Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हिट मेसिन’ बनेकी अञ्जना : ७ मा ४ फिल्म ब्लकबस्टर

फिल्मीखबर, काठमाडौं, 2025/12/22

Anjana Baraili

 

फिल्म सफलताको लोभ हरेक कलाकारमा हुन्छ । तर, यसको स्वाद कमैले चाख्न पाउँछन् । पछिल्लो समय फिल्म सफलताको सबैभन्दा बढी सुखभोग गर्ने अभिनेत्रीमा अञ्जना बराइलीको नाम अग्रस्थानमा आउँछ । अहिले उनी कीर्तिमानी अभिनेत्रीको रूपमा समेत परिचित छिन् । उनको मुख्य भूमिका रहेको पछिल्लो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले बक्स अफिसमा इतिहास रचेको छ ।

चर्चित गीत ‘घुमी घुमी’बाट दर्शकमाझ चिनिएकी उनले फिल्म ‘महापुरुष’बाट डेब्युको अवसर पाएकी थिइन् । पहिलो फिल्मले नै व्यावसायिक सफलता हासिल गर्दा उनको करिअर एकैपटकमा उत्कर्षमा पुग्यो । यसपछि उनले अतिथि भूमिकामा काम गरेको दोस्रो फिल्म ‘चित्रा’ असफल भए पनि तेस्रो फिल्म ‘पूजार सार्की’ले सफलता हासिल गर्‍यो । यसले लगभग ८ करोड कमाएको छ ।

‘पूजार सार्की’को सफलतामा रमाइरहँदा अञ्जनालाई चौथो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले नसोचेको खुसी दियो । यो उनको करिअरको मात्र नभइ नेपाली फिल्मको इतिहासमा नै सबैभन्दा धेरै कमाउने फिल्म हो । यसपछि आएका उनका दुई फिल्म ‘डोरी’ र ‘महाभोज’ भने नराम्ररी डुबे । तर, उनलाई यी दुई फिल्मको असफलताले दिएको पीडा अर्को फिल्म ‘परान’ले भुलाइदिएको छ ।

गत कात्तिक १४ गते प्रदर्शन भएको यस फिल्मले शनिबार ५१ दिन पूरा गर्दै बक्स अफिसमा झन्डै १८ करोड कमाएको छ । योसँगै नेपाली फिल्मको इतिहासमा ‘परान’ सर्वाधिक कमाउने चौथो फिल्म बनेको छ । यसको सफलताले अञ्जनालाई अझ फाइदा पुगेको देखिन्छ । किनकि, उनको अभिनय ‘सारङ्गी’मा भन्दा बढी रूचाइएको छ । यसैले यतिबेला फिल्ममा उनको माग निकै बढेको छ ।

लगातार फिल्म सफल हुँदा उनले पारिश्रमिक पनि ह्वात्तै बढाएकी छन् । नयाँ फिल्म ‘परिवर्तन’मा २० लाख पारिश्रमिक लिएकी उनले ‘परान’को सफलतापछि २५ लाखसम्म डिमान्ड गर्न थालेको बताइन्छ । हुन त लगातार फिल्म चल्दा सुनभन्दा महंगो बन्ने र फिल्म चल्न  छाडेपछि पित्तलभन्दा सस्तो बन्ने नेपाली कलाकारहरूको बानी नै छ । अब अञ्जनाको हकमा के हुन्छ, हेर्न बाँकी छ ।