
यस वर्षको चौथो सफल फिल्म ‘परान’ले प्रदर्शनमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । यो फिल्मले शनिबार प्रदर्शनको ५१ दिन पूरा गरेको हो । अझै देशभरका आधा दर्जनभन्दा बढी हलमा फिल्म प्रदर्शनरत छ । यस वर्ष ५१औं दिन मनाउने यो तेस्रो फिल्म हो । यसअघि ‘ऊनको स्वीटर’ र ‘जेरी अन टप’ले उक्त उपलब्धि हासिल गरेका थिए ।
प्रदर्शनको ५१ दिन पूरा भएको अवसरमा फिल्मको निर्माण पक्षले टोखास्थित अनाथ आश्रममा न्यानो कपडा वितरण गरेको छ । केही दिनमा ‘सक्सेस पार्टी’ पनि आयोजना गरिँदैछ । फिल्मले ५१ दिनसम्म बक्स अफिसमा करिब १७ करोड ६० लाख रुपैयाँको ग्रस व्यापार गरेको जनाइएको छ । योसँगै फिल्मले ‘छक्का पञ्जा ४’, ‘जारी’ जस्ता फिल्मको व्यापारिक आँकडालाई उछिनेको छ ।
‘परान’ नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाइ गर्ने चौथो फिल्म समेत बनेको छ । अब योभन्दा धेरै कमाइ गर्ने फिल्महरूमा ‘१२ गाउँ’ (१९ करोड ९२ लाख), ‘कबड्डी ४’ (२१ करोड ४० लाख) र ‘पूर्णबहादुरको सारङ्गी’ (४६ करोड ८७ लाख) छन् । हालको कमाइको अवस्थालाई हेर्दा यी तीनको रेकर्ड तोड्न भने फिल्मलाई सम्भव देखिँदैन ।
प्रदर्शनको ५ दिनसम्म बक्स अफिसमा दयनीय अवस्थामा रहेको फिल्मले छैटौं दिनबाट व्यापारिक रफ्तार समातेको थियो । दर्शकबाट बलियो ‘वर्ड अफ माउथ’ प्राप्त हुँदा फिल्मले प्रदर्शनको पाँच साता आक्रामक कमाइलाई जारी राख्यो । यो बीचमा प्रदर्शन भएको ‘जारी २’ जस्तो सिक्वेल फिल्म समेत ओझेलमा पर्यो । मंसिरसम्म हलहरूमा ‘परान’कै दबदबा देखिएको थियो ।
बाबु-छोराको भावनात्मक सम्बन्धको कथामा आधारित यस फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविन खतिवडा, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ । हास्य कलाकारको रुपमा परिचित दीपक प्रसाद आचार्य ‘काकु’ले फिल्मको निर्देशन गरेका हुन् । यो उनको पहिलो निर्देशकीय फिल्म हो ।

