Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हल रिलिजको १३ दिनमै ओटीटीमा आउँदै ‘पीआर’

फिल्मीखबर, काठमाडौं, 2025/12/19

sovhit basnet

 

गत शुक्रबार (२६ मंसिर)बाट प्रदर्शनमा आएको फिल्म ‘पीआर’ले व्यापारमा सुधारका लागि घरेलु बक्स अफिसमा संघर्ष गरिरहेको छ । दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त हुँदा पनि फिल्मले अपेक्षित रुपमा व्यापारिक गति बढाउन नसकेपछि निर्माण पक्षले आम्दानीका लागि वैकल्पिक माध्यम रोजेको छ । अब फिल्मलाई ओटीटी प्लेटफर्ममा रिलिज गरिने भएको छ । 

फिल्मको ओटीटी प्रदर्शन अधिकार ‘एमएसएम भिडियो’ले लिएको छ । बिहिबार फिल्मका निर्देशक शोभित बस्नेत र एमएसएमका प्रतिनिधिबीच कागजी सम्झौता भएको हो । निर्देशक बस्नेतका अनुसार यही पुष १० गतेबाट ‘एमएसएम’मा दर्शकले फिल्म हेर्न पाउनेछन् । ओटीटीमा रिलिज हुँदासम्म फिल्म हलमा लागेको १३ दिन मात्र हुनेछ ।

हलमा हेर्न नपाएका दर्शकका लागि ओटीटीमा फिल्म रिलिज गर्न लागिएको निर्देशक बस्नेतले बताए । उनले भने, ‘हलले पर्याप्त शो नदिँदा धेरै दर्शकले फिल्म हेर्न नपाएको गुनासो गरिरहनु भएको छ । यसैले हामीले हल रिलिजको दुई सातामै डिजिटल प्लेटफर्ममार्फत फिल्म देखाउन लागेका हौँ । यो माध्यमबाट धेरै दर्शकमाझ फिल्म पुग्छ भन्ने विश्वास छ ।’ 

नेपालबाट अस्ट्रेलिया पुगेका युवाहरूले त्यहाँको स्थायी आवासीय पत्र (पीआर) लिनका लागि गर्ने संघर्षको कथामा आधारित यस फिल्ममा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू, कृष्ण थापा, नवीन घायल लगायतको अभिनय छ ।