
कात्तिकयता नेपाली फिल्मको व्यापार सुस्ताइरहेको अवस्थामा शुक्रबारबाट नयाँ आशातित फिल्म ‘झरीपछिको इन्द्रेणी’ प्रदर्शनमा आएको छ । स्टारकास्ट र गीत-ट्रेलरले दर्शकलाई आकर्षित गरेकाले फिल्मले बक्स अफिस चलायमान बनाउने अपेक्षा गरिएको छ । हलिउड फिल्म ‘अवतार ३’सँगको प्रतिस्पर्धाका कारण फिल्मले अपेक्षित शो भने पाउन सकेको छैन ।
हास्य कलाकारको रुपमा परिचित अर्जुन घिमिरे (पाँडे)को निर्देशनमा बनेको यो फिल्मबाट पुराना अभिनेता गणेश उप्रेतीले ९ वर्षपछि कमब्याक गरेका छन् । उनका कारण अघिल्लो पुस्ताका दर्शकलाई फिल्म दर्शनीय हुनसक्ने अपेक्षा गरिएको छ । फिल्ममा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य (मुन्नी) लगायतको पनि अभिनय छ ।
निर्देशक घिमिरे स्वयंको कथा रहेको यो फिल्मबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गरेका छन् । जेसिका दीपाश्रीकी बहिनीकी छोरी हुन् । बाल कलाकारमा दिप्सन चिलवालको पनि अभिनय रहेको छ । फिल्मको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन् । अनिशा सेन्दाङ लिम्बू निर्मात्री रहेको फिल्मका छायाँकार बुद्ध थापा हुन् ।
फिल्ममा देशको राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको प्रभाव, र नयाँ पुस्ताको आकांक्षा र आक्रोशलाई मुख्य कथावस्तु बनाइएको छ । एक इमानदार कर्मचारी र बाबुको संघर्षको कथा पनि फिल्मले पेश गर्नेछ । नेपालीतर्फ एकल रिलिजको दुर्लभ अवसर पाएको यो फिल्मलाई बक्स अफिसमा ‘अवतार ३’ ठूलो चुनौतीको रुपमा देखिएको छ ।

