प्रणय दिवसको छेको पारेर आगामी माघ २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक गरिएको छ । प्रेमिल भाव सिर्जना गर्ने यस गीतमा चर्चित गायक केहर सिंह लिम्बूले स्वर दिएका छन् । गीतमा शब्द सुमन तामाङको रहेको छ भने संगीत सुमन र केहरको छ ।
गीतको भिडियोमा फिल्मका मुख्य जोडी आकृति राजभण्डारी र अबिषेक खड्कालाई देख्न सकिन्छ । उनीहरूबीचको प्रेम र आत्मीयतालाई आकर्षक ढंगले चित्रण गरिएको भिडियोमा सुशन प्रजापतिको उत्कृष्ट छायांकन कौशलले दृश्यको सौन्दर्यलाई अझ निखारेको छ । फिल्ममा यो गीतले कथावाचनलाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको निर्माण पक्षले जनाएको छ ।
‘आइ एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता रोमान्टिक फिल्ममार्फत दर्शकमाझ चिनिएका दिनेश राउतले ‘कुमारी’को निर्देशन गरेका हुन् । उनले ८ वर्षपछि लभस्टोरी फिल्म बनाएका हुन् । यसमा अबिषेक र आकृतिसहित घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने लगायतको पनि अभिनय रहेको छ ।
बिनिश इन्टरटेन्मेन्ट, पिक्चर फ्रेम र केन्द्र मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको यस फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् । उनले यसअघि राउतकै निर्देशनमा फिल्म ‘प्रकाश’ बनाएका थिए । केदार भुसाल कार्यकारी निर्माता रहेको फिल्ममा विकास सुवेदीको लेखन, सुप्रिम पराजुलीको सम्पादन तथा किरण थापा र शिशिर खातीको कोरियोग्राफी छ ।

