
कलाकार माओत्से गुरुङको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘पेन्सन पट्टा’को छायांकन सुरु गरिएको छ । बिहीबार कास्की जिल्लाको ताङतिङ गाउँमा शुभ मुहूर्त गरेपछि फिल्मका मुख्य दुई कलाकार पशुपति राई र गौमाया गुरुङले पहिलो सट दिए । फिल्मको सोही गाउँमा ३५ दिनसम्म छायांकन हुने जनाइएको छ ।
निर्देशक गुरुङ स्वयंको लेखन रहेको यस फिल्ममा पशुपति र गौमायासहित दयाहाङ राई, सुनिल थापा, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, राज थापा काउछा, लुनिभा तुलाधर, यासिली राई लगायतको अभिनय रहनेछ । गुरुङ फिल्ममा लोकप्रिय मानिएका विश्वास गुरुङ र माया गुरुङले ‘पेन्सन पट्टा’मार्फत मुलधारको फिल्ममा डेब्यु गर्दैछन् ।
माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (बेलायत) र सपना गुरुङ निर्मातामा छन् । यसमा सुशन प्रजापतिको छायांकन रहनेछ भने झुमा लिम्बू, मनोज थापा मगर र शिव बराइलीले गीतहरू तयार पार्नेछन् । फिल्मले लोभी केटा कसरी दानी बन्छ भन्ने कथा पेश गर्नेछ ।

