Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शो बाँडफाँडमा ‘अवतार ३’ हावी, चेपुवामा पर्‍यो ‘झरीपछिको इन्द्रेणी’

फिल्मीखबर, काठमाडौं, 2025/12/18

avatar 3 and jhari pachhi ko indrini

 

विदेशी र स्वदेशी फिल्मप्रति नेपालका हल सञ्चालकहरूको व्यवहार सधैंजसो विभेदपूर्ण रहँदै आएको छ । ठूला विदेशी फिल्म प्रदर्शनमा आउँदा नेपाली फिल्मलाई सीमित शो, त्यो पनि अफ–टाइममा दिएर पन्छ्याउने प्रवृत्ति पटक–पटक देखिँदै आएको छ । यो विभेद भोलि शुक्रबारदेखि प्रदर्शन हुन लागेको नयाँ फिल्म ‘झरीपछिको इन्द्रेणी’ले पनि भोगिरहेको छ ।

शुक्रबार हलिउडको सर्वाधिक प्रतिक्षीत फिल्म ‘अवतार ३’ पनि प्रदर्शन हुँदैछ । यो फिल्मप्रति दर्शकको क्रेजलाई मध्यनजर गर्दै देशका धेरैजसो हलले १० दिनअघि नै टिकट बुकिङ खुला गरेका थिए । फिल्मको टिकट बिक्री उत्साहजनक पनि देखिएको छ । तर, यो फिल्मलाई हलवालाहरूले शो वितरणमा बढी नै काखी च्याप्दा ‘झरीपछिको इन्द्रेणी’ उपेक्षामा परेको छ । 

बिहीबार मध्यान्हसम्म ‘अवतार ३’को अंग्रेजी र हिन्दी भर्सनलाई देशव्यापी २०५ शो उपलब्ध छ । काठमाडौंका केही मल्टीप्लेक्सले फिल्मलाई दिनमा ९ वटासम्म शो दिएका छन् । तर, ‘झरीपछिको इन्द्रेणी’लाई धेरैजसो मल्टीप्लेक्सले शुक्रबारका लागि बढीमा २ शो दिएका छन् । कतिमा एउटा मात्रै शो छ । खल्ती एपमा अहिलेसम्म फिल्मको देशव्यापी शो ५२ वटा मात्र देखिएको छ ।

‘झरीपछिको इन्द्रेणी’ले अपेक्षाअनुरुप शो नपाए पनि केही मल्टीप्लेक्समा टिकट बिक्री सुखद् देखिएको छ । केही शो ‘सोल्डआउट’ समेत भएका छन् । अब ‘वर्ड अफ माउथ’ बलियो भएर फिल्मप्रति दर्शक आकर्षित भए भने शनिबारबाट शो स्वतः बढ्नेछ । तर, यो फिल्मलाई बक्स अफिसमा ‘अवतार ३’सँगको प्रतिस्पर्धा सहज भने देखिँदैन । 

कलाकार अर्जुन घिमिरे (पाँडे)को निर्देशनमा बनेको फिल्ममा अर्जुनसहित गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, प्रियना आचार्य, अंशु महर्जन, राजेन्द्र नेपाली लगायतको अभिनय रहेको छ । गणेशले यही फिल्मबाट ९ वर्षपछि कमब्याक गरेका हुन् ।