किरण राईको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘नाकछोङ’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मको प्रदर्शन मिति तय नहुँदै दर्शकमाझ ल्याइएको ट्रेलरले कथावस्तुबारे प्रकाश पारेको छ । पिताको निधनपछि उनको इच्छाअनुसार ‘आत्मा’ बाटो लगाउन राई समुदायमा गरिने परम्परागत कुलको बिजुवा (नाकछोङ)को कथामा फिल्म आधारित छ ।
फिल्मका प्रस्तुतकर्ता ज्योतिराज राईले राई समुदायको संस्कार र परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले फिल्म निर्माण गरेको बताए । उनी भन्छन्, ‘फिल्ममार्फत हामीले राई समुदायको सांस्कृतिक चेतना, आत्मिक अनुशासन र कुल परम्परालाई सिनेम्याट्रिक भाषामा पुनर्जीवित गर्ने प्रयास गरेका छौं ।’ उनले फिल्मको प्रदर्शन मिति चाँडै तय गरिने पनि जानकारी दिए ।
पोपीराज राई निर्माता रहेको यस फिल्ममा भुवन सिंह राई, यासेली योङहाङ, सागर केरुङ, शुष्मा सुब्बा गुरुङ, पूर्ण लिम्बू, सारा राई, ताया हाङ राई, दिनेश कोइराला, उदय सुब्बा कुरुङ्वाङ, अनुशा राई, सरोज राई, जेशन राई लगायतको अभिनय छ । फिल्ममा बाबु श्रेष्ठको छायांकन छ भने दिनेश काजी वान्तवा र अनिल कोई राईको संगीत छ ।

