Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मंसिरमा फिल्मको व्यापार हरिविजोग, कुनैको कटेन ३० लाख

फिल्मीखबर, काठमाडौं, 2025/12/17

mangsir movie

 

यस वर्षको कात्तिकसम्म नेपाली फिल्मका लागि उत्साहजक समय रह्यो । गएको ७ महिनामा झन्डै ६० करोडको व्यापार भएको छ । त्यसमा सबैभन्दा ठूलो योगदान फिल्म ‘परान’को छ । यसले अहिलेसम्म बक्स अफिसमा साढे १७ करोड हाराहारीको व्यापार गरिसकेको छ । यसै वर्ष प्रदर्शनमा आएका दुई फिल्म ‘ऊनको स्वीटर’ र ‘जेरी अन टप’ले पनि लगभग २४ करोड कमाएका छन् ।

तर, कात्तिक महिनापछि नेपाली फिल्मको व्यापार पूरै सुस्ताएको छ । मंसिरमा आधा दर्जन फिल्म रिलिज भए पनि कुनैले दर्शक आकर्षित गर्न सकेनन् । मंसिर ५ गते ‘लडाइँ पहिचानको’, मंसिर १२ गते ‘हर्ष’, मंसिर १८ गते ‘अभिमन्यु’ र मंसिर २६ गते ‘पीआर’, ‘लोकन्ती’, र ‘चिराग’ प्रदर्शन भएका थिए । यी ६ फिल्मले लगानी त टाढाको कुरा, प्रचारमा गरिएको खर्च समेत उठाउन सकेनन् ।

‘लडाइँ पहिचानको’ हलमा लागेको र उत्रिएकै दर्शकलाई थाहा भएन । यसको व्यापार ३ लाख पनि छैन । राम्रै प्रचार गरिएको ‘हर्ष’ले बक्स अफिसमा झन्डै २९ लाख व्यापार गर्‍यो । ‘अभिमन्यु’ले गत शनिबारसम्म २१ लाख कमाएको चलचित्र विकास बोर्डको तथ्यांकमा देखिन्छ । ‘पीआर’को व्यापार पनि अहिलेसम्म ३० लाख कटेको छैन । ‘लोकन्ती’ र ‘चिराग’को व्यापार त शून्य प्रायः छ ।

मंसिरमा दयनीय देखिएको नेपाली फिल्मको व्यापार पुषमा भने सुधारिने अपेक्षा गरिएको छ । किनकि, यो महिना दुई ठूला फिल्म ‘झरीपछिको इन्द्रेणी’ र ‘एक्लो’ प्रदर्शन हुँदैछन् । दुवैमा स्थापित कलाकारहरूको उपस्थिति रहेकाले दर्शकको आकर्षण बढ्ने र व्यापारमा सकारात्मक प्रभाव पर्ने विश्लेषण गरिएको छ । तर, मंसिरको व्यापारले निर्माताहरूको मनमा भने ढ्याङ्ग्रो बजेको छ ।