
गत बैशाखमा घोषणा गरिएको फिल्म ‘यानीमाया’ निर्माता र निर्देशकबीचको अन्तरिक मतभेदका कारण निर्माण हुन नसकेपछि त्यसको मूल आइडियामा रहेर नयाँ फिल्म ‘शिरजरा’ बन्ने भएको छ । मंगलबार यस फिल्मको निर्माण घोषणा गरिएको छ । लेखकका रुपमा परिचित विकास सुवेदीले फिल्मको निर्देशन गर्नेछन् । ‘यानीमाया’लाई पनि उनले नै निर्देशन गर्ने तय थियो ।
निर्देशक सुवेदी स्वयंले ‘यानीमाया’को आइडियामा फिल्म बन्न लागेको प्रष्ट पारे । उनले फिल्मीखबरसँग भने, ‘कथा चाहिँ त्यसको होइन । तर, आइडिया त्यही हो । लेखकको दिमागमा परेको चिज त कहाँ जान्छ र ? तर, आइडिया त्यही फिल्मको भए पनि कथा फरक छ ।’ उनका अनुसार आगामी फेब्रुअरीबाट बेलायतमा फिल्मको छायांकन हुनेछ ।
नेपालको किङ्गडम नेटवर्क, अमेरिकाको फ्याक्चर एलएलसी र पोल्याण्डको फिक्जा फिल्म्सको संयुक्त सहकार्यमा निर्माण हुने यस फिल्मको निर्मातामा सुभाष भुसाल रहेका छन् । उनी संगीतकार समेत हुन् । उनले यसअघि मल्टीस्टारर फिल्म ‘पूजार सार्की’ निर्माण गरेका थिए, जुन व्यावसायिक रुपमा सफल भएको थियो ।
फिल्मको कार्यकारी निर्मातामा क्रिस बेरुटी रहेका छन् । उनी अमेरिकी निर्माता हुन् । फिल्मको पोस्ट पोडक्सनको सम्पूर्ण काम पोल्याण्डमा हुने जनाइएको छ । मेटा–मोर्डन फिलोसोफिकल ड्रामा भनिएको यो फिल्मको यतिबेला प्रि–प्रोडक्सनको काम चलिरहेको निर्देशक सुवेदीले जानकारी दिए । उनका अनुसार केही दिनमा मुख्य कलाकारहरू तय गरिनेछ ।

