
आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मिरमिरे’मा एउटा गजबको संयोग जुरेको छ । त्यो हो, श्रीमान् हिरो र श्रीमती गायिका । यस फिल्ममा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा छन् भने उनकी श्रीमती तथा गायिका बेनुका राईले यसै फिल्मको एक गीतमा आवाज दिएकी छन् । उनले केही दिनअघि गीत रेकर्ड गरेकी हुन् ।
बेनुका कुनै समयकी चल्तीकी गायिका हुन् । तर, दयाहाङसँग विवाह बन्धनमा बाँधिएपछि गायनमा उनको सक्रियता कम भयो । उनले पछिल्लो पटक ‘साइबा’ बोलको गीत गाएकी थिइन् । ‘मिरमिरे’मार्फत पार्श्व गायनमा डेब्यु गरेकी उनले फिल्मको कथावस्तु झल्काउने गीत गाएको जनाइएको छ । गीतमा हर्क साउदको शब्द र मनोज थापा मगरको संगीत रहेको छ ।
यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा दयाहाङसहित प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ, नमनराज गजुरेल लगायतको अभिनय रहेको छ । फिल्मका निर्माताहरूमा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा छन् ।
यार्सा फिल्म्सको प्रस्तुति रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, भुपेन्द्र अधिकारी र निमेष श्रेष्ठको सम्पादन तथा प्रकाश सपूत र मनोज थापा मगरको संगीत रहेको छ । फिल्ममा गोविन्द बोहरा र सुदिप कुँवर सह-निर्मातामा छन् भने कार्यकारी निर्माता वितरक रोहित कट्टेल हुन् । फिल्मले बाबु-छोरीबीचको भावनात्मक सम्बन्धको कथा भन्ने बताइएको छ ।

